असिनापीडितलाई राहत

Posted on: 11 Jun, 2019

जेठ २८, पर्वत | असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ ।यही जेठ ९ गतेको असिनापानीले बालीनालीसँगै घरबास गुमाएकापरिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतबार र सोमबार गाउँमै पुगेर राहत वितरण गरेको हो । मोदी गाउँपालिका–७ राम्जा देउरालीका ५२ पीडित परिवारलाई क्षतिकोविवरणअनुसार रु एक लाख ९८ हजार वितरण गरिएको हो ।असिनाले घरको छाना पूर्णरूपमा भत्किएका परिवारलाई रु छ हजार, आंशिक क्षति भएकालाई चार हजार र सामान्य क्षतिभएकालाई रु दुई  हजारका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार १५ जनाको घरको छाना पूर्णरूपमा क्षति भएको छ भने १७ को आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमा क्षति पुगेको पाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पीडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन् । बालीनालीको क्षति भने सम्बन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।असिनाले घरको छाना बस्नै नहुने गरी छोडिदिएको छ, प्रशासनबाट थोरै भए पनि राहत पाउँदा खुुशी लागेको स्थानीयपीडित हुमबहादुर क्षेत्रीले बताउनुभयो । असिनाले जिल्लाका सातै स्थानीय तहका कृषक मारमा परेका छन् । व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफूल, अन्नबाली र बीउबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । तरकारी पकेटअन्तर्गत झण्डै रु ५० लाखका टनेल नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ भने तीन करोडभन्दा बढीको तरकारी र अन्नबाली नष्ट गरेको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । सबैभन्दा बढी मोदीमा र कुश्मा, फलेवास, महाशिला, र पैँयुमा समेत असिनाले नोक्सानी पु¥याएको छ । जिल्लाका अन्य क्षेत्रका असिनापीडित परिवारलाई पनि राहत वितरणका लागि सिफारिस गरेर पठाइएको र बजेट निकासा हुने बित्तिकै वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभएको छ । विशेष गरी तरकारी र मकै बालीमा ७० प्रतिशतभन्दा बढी क्षति पुगेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!