आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ

Posted on: 01 Jan, 2019

पुष १७, पर्वत (रासस) | विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । 

उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन महायज्ञ लगाइएको हो । गाउँका विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा तथा कतिपय सदरमुकाम झरेका कारण २०६८ देखि विद्यालय बन्द छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षासहित कक्षा १ देखि १० सम्म पठनपाठन गर्ने उद्देश्यले महायज्ञ लगाइएको वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो । 

महायज्ञबाट सङ्कलन भएको रकमले विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरी प्रत्येक वर्ष कक्षा थप, अङ्ग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन, कम्प्युटर शिक्षा र पुस्तकालय स्थापना गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले जानकारी दिनुभयो । सो महायज्ञ पुस २३ गतेसम्म चल्नेछ । महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गरिरहनुभएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विद्यालयका लागि रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको हो । हाल कक्षा १ को पढाइ भइरहेको छ । अहिले ४१ विद्यार्थी अध्ययनरत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!