कविता -कुरा ५१ प्रतिशतको

Posted on: 25 Dec, 2016

-तारा सुनुवार

देखावटी आवरण

आहा, कति चिटिक्क परेको

आवरण भित्र डरलाग्दो

भयानक खापैखाप परेको

पत्रे चटान सरी 

पिडा,व्याथा, कथा खाप्टिरहेका छन् ।

५१ प्रतिशतको कुरा गर्न सबै सिपालु

५१ प्रतिशतहरु कति गर्भमै मारिन्छन्

ठुलो लडाई पछि जन्मन्छन्

जन्मेको केही समय पछि

नैतिक शिक्षा पढाइन्छ

नानी राम्रो र जागरिलो बन्नु है

जाँगरिलो बनेर 

अरुलाई सधै खुसी पार्नु पर्छ तिमीले ।

तीनै ५१ प्रतिशतहरु जवान भए पछि

बलात्कृत हुन्छन् 

लुटिन्छन् ,आनन्द लिने वस्तुको रुपमा प्रयोग हुन्छन् 

चाहेको बेला आफ्नो हुन्छन् नत्र पराया

अनि थोत्रो कपडा सरी छेउ लगाइन्छ

मन नभए एकै झड्कामा फ्याकिन्छ ।

तीनै ५१ प्रतिशतहरु संयोगले

विधुवा भए पछि समाजमा 

अपवित्र बन्छन्,अपमानित हुन्छन्

असाहय र असक्षम हुन्छन्

 कथित बोक्सीको नाममा 

आततायी मृत्युवरण गर्छन ।

तीनै ५१ प्रतिशतहरु वृद्धा भएपछि

बेसहारा बन्छन्

दर्जनौको माझमा आफुलाई

शक्तिशाली बनाएर,

दर्जनौलाई सम्हाल्न सक्ने उनी

आज उनलाई समाल्न् सक्दैनन् कसैले 

सुख दिने बहानामा वृद्धाश्रम धकेलिन्छन्

वृद्धाश्रामको ढोका खोल्न बाध्य हुन्छन्

खै कसरी गर्ने ? कहाँ बाट सुरु गर्ने ?

प्रतिशतको हिसाव किताब

धेरै थोरैको जोड घटाउ ।

–कुश्मा पर्वत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!