मुक्तिनाथमा भारतीय तीर्थयात्रीको संख्या ह्वात्तै बढ्यो

Posted on: 03 Jun, 2019


महेन्द्र केसी/पर्वत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि मुक्तिनाथ पुग्नेको संख्या ह्वातै बढेको छ । एकै महिनामा १० हजार भारतीय तीर्थयात्रीहरु मुक्तिनाथ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गएको अङ्ग्रेजी महीना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५५७ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । जसमध्ये सबैभन्दा बढी अप्रिल महिनामा १० हजार २२९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । सन् २०१८ को अप्रिलमा नौ हजार ६१५ विदेशीले मुस्ताङ घुमेका थिए ।

‘मे महीनामा पर्यटक अझै बढ्छन”, कार्यालयका पर्यटन सहायक प्रेम बस्नेतले भने, “जेठ अन्तिमसम्मै पर्यटकको आउजाउ बढी हुन्छ ।” गत वर्षको मे महीनामा १३ हजार ९९८ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए उनले भने । 

मुक्तिनाथ दर्शन गर्नेहरुको संख्या दिनप्रति दिन बढेको मुक्तिनाथका पूजारीले बताए । उनका अनुसार मुक्तिनाथमा सबैभन्दा बढि पछिल्लो समय भारत, इन्डोनएसिया लगायतका क्षेत्रमा पर्यटकहरु बढि आउने गरेका छन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका हिसाबले पछिल्लो समय मुस्ताङ जिल्ला आन्तरीक तथा बाह्य पर्यटकका लागि रोजाईको गन्तव्य बनेको  छ ।।


यस बिषयमा तपाइको प्रतिक्रिया...!