पर्वतको कुश्मामा करेन्ट लागेर एकको मृत्यु

Posted on: 23 Nov, 2017

मङ्सिर ७, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ५ राम मन्दिर चोक नजिकै बन्दै गरेको घरमा मार्बल बोक्ने क्रममा करेण्ट लागेर गएराति एकजनाको मृत्यु भएको छ । 

घरभित्रै मार्बल सार्ने क्रममा स्थानीय नरेश श्रेष्ठको घरमा कुश्मा नगरपालिका वडा नं ११ पकुवा घर भएका ३८ वर्षीय राजु विकको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेका अनुसार काम गर्ने क्रममा मार्बल काट्ने मेसिनको तारमा हात छोइएपछि विकलाई करेण्ट लागेको थियो । 

पीडित पक्ष, मार्बल बिछ्याउन ठेक्का लिएका ठेकेदार र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय पर्वतमा आज हुने छलफलमा क्षतिपूर्तिको विषयमा सहमति भएपछि मात्र शव परीक्षण हुने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!