पर्वतको घुरुंगामा आधुनिक अल्लो उद्योग सञ्चालन

Posted on: 18 Feb, 2018

फागुन ६, पर्वत | यहाँको एक विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ । पोखरा विश्वविद्यालय र दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुंगामा नयाँ प्रविधिसहितको यस्तो उद्योग खोलिएको छ । 

अल्लोको लोक्तालाई पकाउँदा, कुट्दा र धागो निकाल्दा समय र लागत समेत अत्यधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा अजय थापाले बताउनुभयो । लघु उद्यमीका लागि थोरै समयमै धेरै उत्पादन लिन सकियोस् भन्ने उद्देश्यले थापाले उक्त प्रविधिको अन्वेषण गर्नुभएको हो । झण्डै रु २० लाखको लागतमा उद्योग खोल्न सफल भएको उहाँले बताउनुभयो । 

अन्वेषक थापाका अनुसार परम्परागत रुपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र व्यावसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रविधिको विकास गरिएको हो र यसले ग्रामीण क्षेत्रका लघु उद्यमीलाई फाइदा पुग्नेछ । नयाँ प्रविधिले अल्लोको भुवा प्रशोधनमा ठूलो मद्दत मिलेको र यो उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने स्थानीय उद्यमी रनमाया पुनको विश्वास छ । 

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि छ । परम्परागत रुपमा प्रशोधन गर्दा शारीरिक श्रम र समयसमेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो । पहिले १० जनाले गर्ने काम अहिले एक जनाबाटै सम्भव भएको पुनले बताउनुभयो । ‘नयाँ प्रविधि हाम्रा लागि बरदान नै भएको छ,’ उहाँले भन्नुभयो । पहिले अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपथ्र्यो । 

नयाँ प्रविधिको विकासमा कोरियाको विज्ञान प्रविधि मन्त्रालय, नेशनल रिर्सच फण्ड कोरिया, हङकङ विश्वविद्यालय, नेपाल इनोभेसन एण्ड इण्टरप्रेनरसिप सेन्टर, पोखरा विश्वविद्यालय लगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । अल्लो प्रशोधनमा गाउँलेले धेरै समय र परिश्रम खर्च गरेका तर त्यसअनुसार लाभ लिन नसकेका कारण नयाँ प्रविधिको खोजी भएको थियो । 

लघु उद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुवेदीले अन्वेषकलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परीक्षणपछि आफ्नो उद्देश्य पूरा भएको सुवेदीले बताउनुभयो । 

नयाँ प्रविधिसहित सञ्चालनमा आएको भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग यसै सातादेखि शुरु भएको हो । जिल्ला लघु उद्यमी संघका अध्यक्ष तथा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत र हङकङ विश्वविद्यालय कोरियाको प्राध्यापक योनसिक हानले संयुक्त रुपमा उद्योगको उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन गर्दै उपाध्यक्ष महतले अल्लो प्रशोधनलाई व्यावसायिक बनाउन गाउँपालिकाले २० वर्षे उद्योग रणनीति बनाएर अघि बढेको जानकारी दिनुभयो । 

यसअघि उत्तरी पर्वतको सालिजामा उद्योग मन्त्रालयको सहयोगमा अल्लो प्रशोधन उद्योग सञ्चालनमा आएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!