हिंसापिडित महिलालाई १७ वर्षपछि नागरिकता

Posted on: 16 Nov, 2018

कात्तिक ३०, पर्वत  | श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । 

परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको हो । 

पीडित परियारले आफू श्रीमान्बाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिनुभएको थियो । उक्त निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ शर्मा र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटकपटक आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो । 

नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका बल्ल खुलेको भन्दै खुशी व्यक्त गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!