मगर महोत्सव शुरु

Posted on: 20 Feb, 2019

फागुन ८, पर्वत, | लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । 

पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत अगाडि बढिसकेको उल्लेख गर्दै उहाँले अबका पाँच वर्षभित्रमा गण्डकी प्रदेशमा विकासको लहर आउने बताउनुभयो । 

गण्डकी प्रदेशको मुख्य आधार भनेको पर्यटन व्यवसाय रहेकाले स्थानीय कला संस्कृति र परम्परागत पहिचानलाई कायम राख्न सरकार लागिपरेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका अध्यक्ष पदम गिरीले सरकारले पाँच वर्षभित्रमा विकासको लहर ल्याउने गरी काम गरेकामा जोड दिँदै त्यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । 

महोत्सवमा करीब दुई लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित सोरठी, यानिमाया, सुनिमाया, सालैजो गीत प्रतियोगिता, डान्स आइडल, भलिबल, बास्केटबललगायतका प्रतियोगिता आयोजना गरिएको छ भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहेको छ । मङ्गलबारदेखि शुरु भएको महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!