पर्वतको ऐतिहासिक ठूलीपोखरी भरेर ताल बनाइँदै

Posted on: 25 May, 2019

जेठ ११, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी तालको मर्मतसम्भार शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी बाह्रै महीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो । 

झण्डै दुई सय वर्ष पुरानो सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठूलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिले पानीविहीन तथा मर्मत संरक्षण हुन नसक्दा जीर्ण बनेको पोखरीलाई मर्मतसम्भार गरी पोखरीको गहिराइ समेत बढाइने योजना छ ।

 उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर सङ्कलन गरी पर्यटकीय र आर्थिक विकासको हिसाबले सञ्चालन गर्ने योजना समेत रहेको  ठूलीपोखरी संरक्षण तथा मर्मतसम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा मन्त्रालयबाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिनेछ ।

ठूलीपोखरीको मर्मतसम्भारको काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार शुभारम्भ गर्दै पुराना पोखरी, चौतारी, ऐतिहासिक मठमन्दिरहरुको संरक्षणमा प्रदेश सरकार लागेको बताउनुभयो । ठूलीपोखरीमा कृत्रिम ताल बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्दा आयआर्जन र रोजगारी सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम बन्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले गण्डकी प्रदेशका दुई हजारभन्दा बढी ताल तथा पुराना पोखरीलाई संरक्षण गर्न र पानीको अधिकतम सदुपयोग गर्न ताल प्राधिकरण समेत गठन गरेको बताउनुभयो । 

सो अवसरमा प्रदेशसभा सदस्य जुनादेवी नेपालीले संसारको सबैभन्दा ठूलो उद्योग रहेको चर्चा गर्दै नेपालमा पर्यटनबाट नै विकास र समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । फलेवास नगरपालिकाका प्रमुख पद्मपाणी शर्माले ऐतिहासिक र धार्मिक महत्वका पुराना मठमन्दिरदेखि पोखरीलाई संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले समृद्धिको पहिलो आधार पर्यटन भएकाले ठूलीपोखरीमा बन्न लागेको कृतिम तालले समृद्धिको मार्गमा हिँडाउने दाबी गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!