झोलुङ्गे पुल उद्घाटन नहुँदै जीर्ण, लाखौको लुट भएको हुनसक्ने आशंका [भिडियो]

Posted on: 08 Jun, 2019



 पर्वतको सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी मोदी खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन नहुँदै बन्द भएको छ ।

कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने गरी ३ सय ५९ मिटर लम्बाई र १ सय २८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको एक महिना नवित्दै पुल कमजोर देखिएपछि बन्द गरिएको हो ।

२०७५ सालमा निर्माण सुरु  भएको पुलको संचालनमा नआउँदै विग्रिनुले लाखौको भ्रष्टाचार भएको स्थानीयबासीले आशंका गरेका छन् ।

दुई करोडमा निर्माण भएको पुल सम्पन्न भएपछि ज्ञादी, शंकरपोखी, खौलालाकुरी, पिपलटारीका बासिन्दाहरुलाई सदरमुकाम झर्न सजिलो भएको थियो । पुलमा आवातजावत गर्दा पुल बाँङ्गो र कमजोर भएको महसुस गरेको स्थानीयबासीले बताएका छन् ।

पुलको लट्ठा कस्नेभन्दै अहिले पुलको वाल भत्काउन शुरु गरिएको छ  भने पुलको साइटमा लगाइएको तार जाली पनि निकाल्ने बताइएको छ ।

पुल उद्घाटन र हस्तान्तरण नहुँदै जीर्ण बनेपछि निर्माण कम्पनीले फेरी बनाउन थालेको छ तर पुलको गुणस्तरमा भने अझै प्रश्न चिन्ह उठेको छ ।

कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास शर्मा पौडेलले पुल हस्तान्तरण भइनसकेकोले यसको सम्पूर्ण जिम्मेवारी निर्माण पक्षले नै लिने बताए । उनले यस विषयमा मन्त्रालयसम्म कुरा पुगिसेको बताए । पुल हस्तान्तरण भइनसक्दै जीर्ण बन्नु आफैमा दुखद भएको भन्दै उनले त्यसबारेमा छानविन हुने पनि बताए ।

मोदी खोलामाथि यो भन्दा अगाडि बडागाउँ ज्ञादी र बडगाउँ मुडिकुवामा लामा झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।







यस बिषयमा तपाइको प्रतिक्रिया...!