दुवै मिर्गाैला फेल भएका युवाको उपचारमा समस्या

Posted on: 18 Jun, 2019

असार ३, पर्वत । दुवै मिर्गाैला फेल भएपछि पर्वतका एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदीको दुवै मिर्गाैला फेल भएपछि अहिले जीवनमरणको दोसाँधमा छन् ।

विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहेका सुवेदी अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । 

उनी रोजगारीको सिलसिलामा विगत २६ वर्षदेखि भारतको नयाँदिल्लीमा बस्दै आएका थिए । दुवै मिर्गाैला फेल भएपछि उनी अहिले नेपाल आएका छन् । उनका एक छोरी र दुई छोरा छन् । कमाउने मान्छे नै बिरामी भएर थला परेपछि अहिले उनको परिवारमा ठूलो आर्थिक सङ्कट परेको छ ।

सुवेदीले विगत एक महीनादेखी पोखरा तथा काठमाडाँैका विभिन्न अस्पतालमा मिर्गाैलाको उपचार गराइरहेका छन् । सुवेदीकी श्रीमती लक्ष्मी सुवेदीले आफ्नो मिर्गाैला दिएर बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको गुनासो गर्नुभयो । लक्ष्मीले भन्नुभयो, “मेरो मिर्गाैला दिएर श्रीमान्लाई बचाउँछुभन्दा पनि पैसाको अभाव भयो ।’

आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान्को उपचारमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले सहयोग गरेमा उहाँले पुनःजन्म पाउनुहुन्थ्यो ।” एक महीनाको अवधिमा कमाएको सबै पैसा सकिएपछि अब घर फर्किएर मृत्यु कुर्नुको विकल्प नरहेको आफन्तले बताएका छन् ।  बुद्धिप्रसाद सुवेदीलाई सहयोग गर्न चाहनेले कृषि विकास बैंकको खाता नं ०३१६४०१४३६४१८०१५ मा रकमा जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । उनको जीवनरक्षाका लागि विभिन्न सङ्घसंस्था, सरकारी निकाय र आफन्तलाई सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!