पर्वतमा निशुल्क डायलासिस सेवा शुरु

Posted on: 06 Aug, 2020


पर्वत । पर्वत जिल्ला अस्पतालमा मिर्गाैलाको निःशुल्क डायलासिस सेवा सुरु भएको छ । अस्पतालमा चार वटा अत्याधुनिक मेसिनबाट मिर्गाैलाको डायलासिस सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार मिर्गाैला डायलासिस सेन्टरबाट ६ स्टाफ नर्स, दुई मेडिकल अफिसर र एक जना प्राविधिकले २४ सै घण्टा सेवा प्रदान गर्ने भएका छन् ।

हाल चारवटा मेसिनबाट डायलासिस सुरु गरिए पनि आवश्यकताका आधारमा मेसिन थप गर्न सकिने अस्पतालले जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित तालीम प्राप्त चिकित्सकको व्यवस्था गरेको हो ।

करिब एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको लागतमा सञ्चालनमा आएको उक्त सेन्टरबाट दैनिक ६ जना बिरामीको नियमित डायलासिस गर्न सकिनेछ भने चार वटा मेसिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!