पहिराबाट पर्वतका १९ घरपरिवार विस्थापित

Posted on: 06 Jul, 2021

असार २२, पर्वत (रासस) । पर्वत सदरमुकाम कुश्माबजारका १९ घरपरिवार बाढीपहिरोका कारण विस्थापित भएका छन् ।  अविरल वर्षासँगै सोमवार राति आएको बाढीले कुश्मा नगरपालिका—४ जिरो किमी र नारायणस्थान वरपरका १९ घर जोखिममा परेका छन् ।

कुश्मा नगरपालिका—३ सल्यानबाट ठूलाठूला ढुङ्गा र गेग्रानसहितको पहिरो आउँदा स्थानीयवासीको घरआङ्गन पुरिएको छ । मध्यपहाडी लोकमार्गमा समेत गेग्रानले भरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय परिसर र बिरुवा नर्सरी पहिरोले पुरिएको छ ।

कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनीकरणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरेको छ । 

नगरप्रमुख रामचन्द्र जोशीले पहिरोको जोखिममा रहेका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने र यसको स्थायी समाधान खोज्नुपर्ने आवश्यकता औल्याउनुभयो । पहिरो क्षेत्रको स्थलगत अवलोकन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय र प्रदेश सरकारलाई यसको नियन्त्रणका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बस्तीमा जोखिम बढेकाासीलाई तत्काल सुरक्षित स्थानमा सार्ने र चेकड्याम बनाएर पहिरो नियन्त्रणको प्रयास गर्न यहाँका सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको बताउँदै बाढीपहिरोले बस्तीमा ल्याएको ढुङ्गा र ग्रेगान पन्छाउन कुश्मा नगरपालिका, मध्यपहाडी लोकमार्ग र भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई समन्वयात्मक ढङ्गले काम गर्न आग्रह गरिएको जानकारी दिनुभयो । 

पहिरोले जिरोकिलो, पोखरी उप्री र डम्डारेखोला वरपरको बस्तीमा ठूलो क्षतिको जोखिम हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । पहिरोको दीर्घकालिन समाधान नगर्ने हो भने कुश्मादेखि गुप्तेश्वर गुफासम्मको बस्तीमा ठूलो क्षति हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी खत्रीको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!