बन्दका कारण पर्सावासीको जनजीवन प्रभावित

Posted on: 18 Jan, 2018

माघ ४, पर्सा |  प्रादेशिक राजधानीको माग गर्दै बजार, यातायात बन्द गरेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ । 

वीरगञ्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दका क्रममा आन्दोलनकारीले आज बिहानैदेखि वीरगञ्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय संस्था र विद्यालय बन्द गराएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो । 

प्रदेश नं २को अस्थायी राजधानी जनकपुर तोकिएको विरोधमा बिहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वालगायतका चोकमा बिहानैदेखि टायर बाली प्रदर्शन गरिरहेका छन् । 

बन्दका कारण वीरगञ्जबाट विभिन्न जिल्लातर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सर्वजनिक सवारी साधन नचलेपछि यहाँको बसपार्कमा सयकडौँ यात्री अलपत्र परेका छन् । 

बन्दको अवज्ञा गरेको भन्दै वीरगञ्जको घण्टाघर चोकमा आन्दोलनकारीले करिब आधादर्जन सवारी साधन तोडफोड गरेका छन् । आन्दोलनकारीले दुई वटा चारपाङ्ग्रे र चार वटा तीन पाङ्ग्रे इ–रिक्सामा तोडफोड गरेको प्रहरीले जनाएको छ । 

एम्बुलेन्स, वारुणन्त्र, पर्यटक सवार वाहन, सञ्चार माध्यमका सवारी साधन, मोटरसाइक, सइकल बाहेकका सबै सवारी साधन सञ्चालनमा आन्दोलनकारीले रोक लगाएका छन् भने होटल, औषधि पसलमात्र सञ्चालन गर्न दिएका छन् । 

बन्दका क्रममा हुन सक्ने जनधनको क्षति रोक्न वीरगञ्जका चोक चोकमा उल्लेख्य संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!