बैशाख १५ देखि केवल टिभीमा च्यानल नआउने

Posted on: 02 Mar, 2017

फागुन १९, काठमाडौँ | सरकारले आगामी बैशाख १५ गतेबाट देशका मुख्य सहरहरुमा केवल टिभीबाट च्यानल हेर्न नपाउने नीति लिएको छ ।

यो नीति अनुसार सरकारले पहिलो चरणमा बैशाख १५ देखि काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, पोखरा उपमहानगरपालिका र बिरगंज उपमहानगरपालिकामा एनालग केवलहरुलाई प्रतिस्थापन गरि डिजिटल सिग्नल अनिवार्य गरेको हो । 

यस अघि सूचना तथा संचार मन्त्रालयले केवल व्यवसायीहरूलाई बैशाख १५ भित्र डिजिटलमा जाने कार्ययोजना अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको थियो । सरकारले एक सूचना निकाल्दै आफै डिजिटलाइजेशन गर्ने अथवा अन्य डिजिटलाइजेशनमा रहेका अपरेटरहरूसँग आवद्ध भइ डिजिटलाइज सेवा दिने हो प्रष्ट पारी कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो । 

तोकिएका स्थानहरुमा केवल टिभी वितरण गरेका कम्पनीहरुले नयाँ नीति अनुसार डिजिटल प्रणालीमा रूपान्तरण गर्दा अन्तराष्ट्रिय  मापदण्ड अनुसारको कण्डिसनल एसेस सिष्टम र सस्क्राइबर म्यानेजमेन्ट सिष्टमका साथै अन्य प्रविधि र उपकरणमा समेत अपग्रेड गर्नुपर्ने भएको छ । 

सरकारले सबै केबल अपरेटरहरूलाई २०७३ सालको बैशाख १६ गतेबाट  डिजिटल बनाउने घोषणा गरेको थियो । तर कुनै उपलब्धि गर्न सकेन  । यो पटकको सरकारले भने उक्त नीतिलाई कार्यान्वयनमै लैजाने अनिवार्य निती लिएको छ । योजना अनुसार तोकिएका स्थानहरुमा बैसाख १५ गतेदेखि डिजिटल सिग्नल निवार्य गरिने र त्यसका लागि सबै कम्पनीहरुलाई निर्देशन समेत दिईएको छ । 

योजना कार्यान्वयनमा जाँदा केवल टिभी चलाउंदै आएका ग्राहकहरुले सफा टिभी हेर्न सक्छन भने सरकारलाई समेत राजश्वमा वृद्धि हुनेछ । केवल टिभीमा ब्यबसायीहरुले गलत डाटा देखाई करोडौं रकम राजश्व छली गर्दै आएका छन् । अब डिजिटलमा जाँदा कुन कम्पनीले कति ग्राहकलाई टिभी सिग्नल वितरण गरेको छ भन्ने प्रबधि सहित स्पष्ट डाटा पाउने हुँदा कम्पनीहरुले राजश्व छली गर्न सक्दैनन् ।

.....

विदेशबाट टिभी ल्याउँदा कति इन्चलाई कति कर तिर्नु पर्छ ? थाहा पाउनुहोस्  

यस बिषयमा तपाइको प्रतिक्रिया...!