राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने : सभामुख घर्ती

Posted on: 28 Nov, 2016

 मङ्सिर १३, पर्सा । सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताउनुभएको छ । 

वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने बताउनुभयो । 

पतञ्जलिले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको सभामुख घर्ती मगरको भनाइ थियो । 

उहाँले पतञ्जलि योगपीठका संस्थापक योगगुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिकसँगै आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाएको बताउनुभयो । 

स्वामी रामदेवले विश्वस्तरमै योगको अभ्यासलाई मुखरित गरी पूर्वी संस्कृतिको जगेर्नासँगै व्यक्तिलाई निरोगिता प्रदान गरेको भन्दै सभामुख घर्तीमगरले स्वामी रामदेवको कार्यको प्रशंसा गर्नुभयो । स्वस्थ्य शरीरमा नै स्वस्थ्य सोचले बास गर्ने र स्वस्थ्य सोचले नै मानवता र समाजलाई भलो गर्न सकिने सभामुख घर्तीमगरले बताउनुभयो । 

विगत पाँच दिनदेखि वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको समापन समारोलाई सम्बोधन गर्दै स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने विचार व्यक्त गर्नुभयो । 

उहाँले नेपाल ऋषिहरुको तपस्यास्थल र अध्यात्मभूमि भएकाले यस देशका नागरिकको चिन्तन स्वच्छ र मन कञ्चन रहेको बताउनुभयो । 

शिविरमा सहभागीलाई स्वामी रामदेवले योग प्रशिक्षण दिनुभएको थियो । सो क्रममा सभामुख घर्तीमगरले समेत योगाभ्यासमा सहभागिता जनाउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!