निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

Posted on: 27 May, 2017

जेठ १३, पर्सा | स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ । 

राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति सार्न अनुरोध गरेका हुन् । गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले प्रजिअ केशवराज घिमिरेमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यही जेठ १३ गतेदेखि मुसलमान समुदायको एकमहिने रमजान व्रत सुरु हुने र व्रतका क्रममा निर्वाचनका गतिविधिमा आफ्नो समुदाय सहभागी हुन नसक्ने भएकाले जेठ ३१ गते हुने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति अगाडि सार्न आग्रह गरिएको छ । 

ज्ञापनपत्रमा आउँदो असार ११, १२ र १३ गते मुसलमान समुदायको इद उलफित्र (इद पर्व)परेको र सोही मितिमा परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले उच्चमाध्यमिक विद्यालय कक्षा ११ को परीक्षा राखेकाले इद मनाउनबाट समुदायका बालबालिका वञ्चित हुने भएकाले परीक्षाको मितिसमेत इदपछि राख्न अनुरोध गरिएको छ । 

मुसलमान नागरिक समाज पर्साले समेत ज्ञापनपत्र बुझाउँदै स्थानीय तह निर्वाचनको मिति तथा कक्षा ११ को परीक्षालाई इदपछिको मितिमा सार्न आग्रह गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!