अज्ञात व्यक्तिद्वारा श्रीमानसँगै सुतेकि महिलालाई गोली हानियो

Posted on: 11 Apr, 2017

चैत २९, पर्सा । वीरगन्जमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागी एक महिला गम्भीर घाइते भएकी छिन् । 

वीरगन्ज उपमहानगरपालिका– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलु पटेल अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएकी हुन् । कोठामा श्रीमान्सँगै सुतिरहेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागी निलु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

बिहान १ बजेदेखि २ बजेकोबीचमा गोली लागी घाइते भएकी निलुको पहिले वीरगन्जकै गण्डकस्थित वीरगन्ज हेल्थकेया हस्पिटलमा उपचारका लागि भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि वीरगञ्जकै नेशनल मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

देब्रे कन्चटमा गोली लागेकी निलुको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरी उपचार भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । 

उक्त घटनाबारे निलुको श्रीमान् तथा ससुराली पक्षसँग सोधपुछ भइरहको प्रहरीले जनाएको छ । श्रीमान्लाई हाल प्रहरी निगरानीमा राखी आवश्यक अनुसन्धानलाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो । 

घाइते निलुको १८ महिनाको एक छोरा रहेको प्रहरीले जनाएको छ । निलु र उनका श्रीमान्बीच सम्बन्ध राम्रो नभएको र बेलाबेला झै–झगडा हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!