पर्सामा डुबेर मर्नेको संख्या छ पुग्यो

Posted on: 16 Aug, 2017

साउन ३२, पर्सा । अविरल वर्षाका कारण पर्सामा आएको बाढीमा डुबेर मर्नेको संख्या छ पुगेको प्रहरीले जनाएको छ । 

यही साउन २६ गतेदेखि ३० गतेसम्म लगातार परेको अविरल वर्षाको कारण जिल्लामा रहेको खोलाको पानी मानव वस्तीमा प्रवेश गर्दा आएको बाढीमा डुवी दुई भारतीयसहित छजनाको मृत्यु भएको हो । 

बाढीमा डुवेर मृत्यु हुनेमा भारतको विहार घर भई पर्साको जगरनाथपुर गाँउपालिका–२ बस्दै आएका नुरा खातुन र रामस्वरुप माझी तथा पर्सा सुवर्णपुर गाँउपालिका–२ हनुमानटारका कृपा बस्नेत, जगरनाथपुर–५ मसिहानीका वासुदेव हजरा, जगरनाथपुर गाँउपालिका–१ का बुनिलाल महतो र सिर्सिया खोलाबाट पहिचान खुल्न नसकेका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

साउन २८ गते सिक्टा नहरको पर्खालमा च्यापिएर खातुनको मृत्यु भएको थियो भने साउन २८ र २९ गते खोलामा डुवेर बेपत्ता भएका महतो, हजरा र माझीको शव साउन ३० गते जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको थियो । 

त्यस्तै, हनुमानटारमा खोलामा आएको बाढीले बनाएको खाल्डोमा आज बिहान डुबी आठ वर्षीय बालक बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!