घुस लिएको अभियोगमा दुई जना पक्राउ

Posted on: 20 Sep, 2018

 असोज ४, पर्सा । विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले आज वीरगञ्जबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो । 

फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको रु पाँच लाखमध्ये रु एक लाख लिन वीरगञ्जको लाठगलीस्थित एक होटलमा पुगेका पर्साको छिपहरमाई गाउँपालिका–२ सम्भौताका अरुणकुमार साहलाई रुपैयाँसहित अख्यितारको टोलीले पक्राउ गरेको थियो । साहले दिएको जानकारीका आधारमा वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट दुवै जना कर्मचारीलाई नियन्त्रणमा लिएकोे बताइएको छ । 

रुपैयाँ लिन होटलमा पुगेका अरुण शाखा अधिकृत साहका भाञ्जा रहेको अख्तियारले जनाएको छ । पक्राउ गरिएका आलम र साहलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!