आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन जना पक्राउ

Posted on: 29 May, 2019

 जेठ १५ , पर्सा ।  बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र बाराकै  खपरताता बस्ने विनेश महतोलाई  प्रहरीले आज पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ । 

घरअगाडि खेलिरहेको अवस्थामा जेठ १० गते करणलाई अपहरण गरी उनका पितासँग ३० लाख फिरौती माग्दै आएको र फिरौती पाउन ढिलो भएपछि बालकको हत्यासमेत गरेको अभियोगमा तीनै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी विकास र सिकेन्द्र घाइते भएको बताउनुभयो । 

अपहरणकारीले दिएको सूचनाका आधारमा कलैया उपमहानगरपालिका–२५ मा पर्ने खौराही खोलामा बालकको शव खोजतलास गर्ने क्रममा विकास र सिकेन्द्र भागेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको उपरीक्षक ढकालले जानकारी दिनुभयो । घाइते दुवैको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

खोराही खोलाबाट बरामद गरिएको करणको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ । पक्राउ परेका तीनै जनामाथि अपहरण र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!