सांसद प्रदीप यादवले गरे पर्साका बाढी पिडितलाई आर्थिक सहयोग

Posted on: 16 Jul, 2019

असार ३१, पर्सा | प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्साका बाढी प्रभावितलाई आफ्नो एक महीनाको तलब आर्थिक सहयोग गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले रु ५५ हजार २५० को चेक हस्तान्तरण गर्नुभएको हो । 

बाढी प्रभावितलाई राहत वितरणमा प्रयोग गर्न एक महीनाको तलब बराबरको रकम हस्तान्तरण गरेको सांसद यादवले जानकारी दिनुभयो । उहाँले अत्याधिक वर्षाको कारण आएको बाढीबाट पूरै जिल्ला प्रभावित भए पनि स्थानीय तहबाट हुनुपर्ने राहत वितरण चित्त बुभ्mदो नभएको गुनासो गर्नुभयो ।

सो अवसरमा प्रजिअ भट्टराईले प्राप्त आर्थिक सहयोगले बाढी प्रभावितलाई राहत वितरणमा सहयोग पुग्ने बताउँदै दैवी प्रकोपको यस कठिन घडीमा डुबान प्रभावितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । असारको अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीबाट पर्सामा ४३० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । डुबानमा परेर पर्सामा हलसम्म तीन जनाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!