कैलाली-कञ्चनपुर थारुवान प्रदेशमै राख्नुपर्छ: मन्त्री चौधरी

Posted on: 27 Sep, 2016

असोज ११, काठमाडौं । कृषिमन्त्री गौरीशंकर चौधरीले प्रदेशको सिमांकन गर्दा कैलाली–कञ्चनपुरलाई थारुवान प्रदेशमै राख्नुपर्ने जिकिर गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले प्रदेशको सिमांकनमा विवाद भएपनि त्यसलाईपनि दलहरुवीचको सहमतिबाटै टुँगो लगाउन सकिने विश्वास व्यक्त गरे ।

उनले कैलाली–कञ्चनपुर थारुवान प्रदेशमै हुनुपर्ने आफ्नो पार्टीको अडान भएकोले सोही बमोजिम हुनुपर्ने जिकिर गरे । उनले अघि थपे,‘अखण्ड सुदुरपश्चिमको पक्षमा म छैन, र पार्टीपनि यसको पक्षमा छैन् ।’

मन्त्री चौधरीले संविधान संशोधनबारे शीर्ष तहमा छलफल भैरहेको बताएका छन् । उनले अघि भने,‘संविधान संशोधनबारे अहिले प्रमुख राजनीतिक दलहरुवीच शीर्ष तहमा छलफल जारी छ, प्रधानमन्त्री स्वयम पनि गम्भिर भएर लाग्नुभएको छ ।’

संशोधनबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि वार्ता तथा छलफल भैरहेको उनको भनाई थियो । मन्त्री चौधरीले थपे,‘संशोधनबारे मैले सकारात्मक पाएको छु, मलाई लाग्छ, यसले चाँडै एउटा निश्कर्ष लिन्छ ।’

मन्त्री चौधरीले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनको लागि आर्थिक वर्ष ०७३÷०७४ को बजेटका कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि मन्त्रालयले जिल्लामा निर्देशन दिईसकेको मन्त्री चौधरीको भनाई थियो ।

कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनको लागि सरकारले विशेष प्याकजेमै कार्यक्रमहरु अघि सारेकोले संघीय प्रणाली अनुसार नै ७ प्रदेशमै पुर्याउने चौधरीले बताए । उनका अनुसार अहिले मन्त्रालयमा कुल २७ अर्ब बजेट रहेको छ ।

धान, फलफुल, तरकारी, लगायत अन्य संभाव्यता भएका कुरामा सरकारले विशेष कार्यक्रमहरु अघि सार्ने समेत उनले जनाए । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रमलाई पनि अघि बढाउन लागिपरेको बताए । उनले अघि थपे,‘हामीले ७ प्रदेशमै यो कार्यक्रमहरुलाई अघि बढाउन लागिपरेका छौं ।’

कृषिजन्य जमिनमा देखा परेका ह«ासलाई समेत मध्येनजर गर्दै कृषिजन्य जमिनलाई चक्लाबन्दी गर्ने र जमिनलाई सुपर जोनका आधारमा कृषि कार्यक्रम अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले बताए । उनका अनुसार काँस्कीमा तरकारी, जुम्लामा स्याउ, दाङ्मा मकै, बारामा माछा खेतिको संभावना रहेकोले सोही क्षेत्रमा सोही बमोजिम कार्यक्रमहरु अघि बढाउने सरकारको तयारी छ ।

किसानलाई पेन्सन दिने तयारी समेत सरकारले गरिरहेको मन्त्री चौधरीले जनाए । उनले भने,‘जन्मदेखि मृत्यु नहुन्जेलसम्म किसान पेशा गर्नेलाई केही दिनुपर्छ, त्यसको लागि सरकारले तयारी गरिरहेको छ, अब छिट्टै यसबारेमा निर्णय हुन्छ ।’ किसानको वर्गिकरणको लागि समेत सरकारले तयारी थालेको उनले जनाए ।

मन्त्रालयको अवधारणा अनुसार पाँच लाखसम्म आयआम्दानी गर्ने किसानलाई एउटा वर्गमा, पाँचदेखि १० लाखसम्म आम्दानी गर्नेलाई अर्को वर्गमा, १०–२५ लाखसम्म आम्दानी गर्नेलाई एउटा वर्गमा, र २५ देखि ५० लाखसम्म एउटा वर्गमा, र त्यो भन्दापनि कारोवार गर्नेलाई उद्योगव्यवसायीको रुपमा वर्गिकरण गर्ने तयारी रहेको छ ।

कृषि क्षेत्रलाई आधुनिकरण गर्नको लागि मन्त्रालयसँग यथेष्ट बजेट नभएको समेत मन्त्री चौधरीको गुनासो छ । उनले अघि थपे,‘हामीलाई बजेटले हातखुट्टा बाँधेको छ ।’ रोजगारीको सिलसिलामा विदेशमा कार्यरत नेपाली युवाहरुलाई स्वदेशमै आकार्षण गर्नको लागि समेत सरकारले भनेजसरी काम गर्न नसकेको उनले स्विकारे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!