२५ बुँदे सम्झौताले नेपाललाई भुटानीकरणको बाटोमा लियो: भट्टराई

Posted on: 27 Sep, 2016


असोज ११, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेकाले अब  शासकीय स्वरुप फेर्नुको विकल्प नरहेको  बताएका छन् । 

काठमाडौंमा मंगलबार नयाँ शक्ति पार्टी, नेपालको प्रशिक्षण विभागले आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण मन्तव्य राख्दै उनले भने–‘यस्तो अस्थिर प्रकारको शासकीय स्वरुपको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति नयाँ शक्ति पार्टीले सशक्त आन्दोलनको तयारी गर्नेछ ।’

उनले भर्खरै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सम्झौताप्रति असहमति जनाउँदै त्यसले नेपाललाई भुटानीकरणको बाटोमा लगेको भन्दै त्यसका विरुद्धसमेत सशक्त आन्दोलन गर्ने बताए । 

डा. भट्टराईले नयाँ शक्ति पार्टीको टेक्ने आधार नेपाली समाजको बहुवर्ग भएको बताउँदै कामचोर वर्गबाहेक पुँजीपति, श्रमजीवी, बुद्धिजीवी सबै तप्काको प्रतिनिधित्व नयाँ शक्तिले गर्ने बताए  । उनले यही वर्गका बीच नयाँ शक्तिलाई स्थापित गराएर आगामी निर्वाचनबाट आफ्नो शक्तिलाई राजनीतिक रुपमा वैकल्पिक शक्तिका रुपमा जनताबीच स्थापित गर्ने धारणा समेत  राखे । डा. भट्टराईले यही वर्गलाई ध्यानमा राख्दै सडक, सदन र सरकारको मोर्चामा नयाँ शक्ति सशक्त रुपले अगाडि आउने धारणा राखे । 


भट्टराईले बदलिएको परिस्थति अनुरुप नयाँ शक्तिलाई विकसित गर्दै सँधै नयाँ शक्तिकै रुपमा स्थापित गर्ने लक्ष्य आफूहरुले लिएको भन्दै नयाँ शक्ति आर्थिक, सांस्कतिक र आचरणका हिसाबमा पनि खुल्ला र पारदर्शी शक्ति हुने बताए । 

उनले नेपालको विकासमा आन्तरिक राष्ट्रिय एकता कायम गर्नुपर्ने र सँगसँगै बाह्य राष्ट्रियताको पक्षमा समेत ध्यान दिनुपर्ने बताए । भट्टराईले नेपाल पृथ्वीनारायण शाहले भनेजस्तो दुई ढुंगाको तरुल नभई आर्थिक रुपमा सम्पन्न दुई ठूला राष्ट्र चीन र भारतबीचको गतिशील पुल भएको समेत बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!