'सीताको पतिगृह देशका राष्ट्रध्यक्षलाई देखेर हामी रोमाञ्च भएका छौं' - मिथिलाबासीहरु

Posted on: 04 Nov, 2016

कात्तिक १९, जनकपुर । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरमा शुक्रबार मिथिलावासीहरुले भव्य स्वागत गरेका छन् ।


मिथिलाबासीहरुले भारतीय राष्ट्रपति मुखर्जीको अभिनन्दनमा संस्कृत बाङमय एवं साहित्यिक भक्तिरस मिसाइएको अभिनन्दनपत्रमा यस्तो कलात्मक कुरा थियोः

विश्वशान्ति र विश्व बन्धुत्वका लागि समर्पित विश्वविख्यात नेता, लोकत्रान्त्रिक मूल्यका निष्ठावान पुरुष, उत्पीडित एवम् प्रताडीत मानवताका उन्मुक्ति नायक, समाजिक न्याय तथा कानुनी राज्यको अवधारणामा आधारित विभेदमुक्त, समतामूलक समाजका प्रखर अभियन्ता, गणतन्त्र भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीका कर-कमलमा समर्पित नागरिक अभिनन्दन पत्र ।

हाम्रा विशिष्ट पाहुना महामहिम राष्ट्रपति,

यहाँलाई यो पवित्र नगरी जनकपुरबासीमाझ स्वागत गर्न पाउँदा जगदम्बा सीताको यो धराधाम गदगद भएको छ । आज हामी पुनः एकपटक सीता-रामको स्वयम्भरको दृश्यलाई झल्झली सम्झिरहेका छौं ।

सीता स्वम्भरमा राजा दशरथलाई जनकपुरमा पाएर जनकपुर जसरी हर्षविभोर भएको थियो, आज फेरि सीताको पतिगृह देशका राष्ट्रध्यक्षलाई देखेर हामी माथिलाबासी रोमाञ्च एवम् आनन्दको भावासागरमा निमग्न भएका छौं ।

मैथिली परम्पराअनुसार हामी यहाँलाई भावाजलाभिषेक गर्दछौं, र यहाँमाथि भावसुमनको वर्षा गर्दछौं । छिमेकी मित्रराष्ट्रका भारतका राष्ष्ट्रप्रमुख, सम्पूर्ण मानवताको मंगलका लागि यहाँको जीवन समर्पित रहेको छ ।

सहअस्तित्वको सहभावनाले नै संसार बाँच्छ र बाँच्न योग्य रहन्छ भन्ने साश्वत सत्य यहाँको मन, बचन र कर्मद्वारा उद्घोषित भएको छ, जसको हामी मुक्तकण्ठले प्रशंसा गर्दछौं ।

नेपाली जनताका घनिष्ठ मित्र महामहिम,

महाकवि वाण भट्टले लोक विधेययानि हि भवन्ति चचा सि महताम भनेझैँ यहाँले जीवनपर्यन्त आफ्ना मूल्यहरुको रक्षार्थ बिघ्नका बिन्ध्याचल लाहपतिका अर्णवहरु अभिचल, धैर्य, अटल, सहास, अचल र अथक पुरषार्थसहित पार गर्दै आउनुभएको छ, हामी यहाँको स्वागत गर्न पउँदा हामी अत्यन्तै हर्षित छौं ।

विद्यता र ज्ञानका प्रखर प्रतिनिधि समान्ननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यहाँलाई आफैंमा एउटा विश्व विद्यालय भन्नुभएको छ । गरिबी, अशिक्षा, समाजिक असमानता, अन्धविश्वाशस, कुरीति, समाजिक विभेदजस्ता समाजिक कुरीति हटाउने दिशामा वर्तमान विश्व यहाँको चिन्तन र आलोकतिर आशातीत दृष्टिले नियाल्दछ । वर्तमान नेपाल पनि ती चिन्तन र आलोकमा आफ्नो पथ पहिल्याउँदै समान्यायिक र सम्मुन्नत नेपालका लागि पाइला अघि बढाउँदैछ ।

हे दूरदर्शी, स्वप्नद्रष्टा एवम् कर्मठ कर्मयोगी,

सम्पूर्ण श्रृष्टिको रहस्यवीज आफ्नो छातीभित्र राख्ने जनकपुरको यो गौरवशाली ज्ञानभूमि, आर्यशक्ति सीताको लीलास्थल मात्र होइन, सम्पूर्ण भारतवर्ष आर्यवर्तको चिन्तनको केन्द्रभूमि रहेको कुरा पुराण र इतिहासबाट सिद्ध छ ।

सांस्कतिक एबम् एतिहासिक वैभवले सम्पन्न यो मिथिला भूमि भौतिक विकासको दृष्टिले पछि रहे पनि आध्यात्मिक सांस्कतिक र परम्पराको दृष्टिले यो जीवन्त र वैभवशाली छ ।

विज्ञान, प्रविधि, उद्योग, व्यवसाय, ज्ञान, सांसकतिक तथा आध्यात्मिक पर्यटन केन्द्रमा दृष्टिले अत्याधुनिक महानगरीय जीवनका सम्पूर्ण सुविधासम्पन्न नगरका रुपमा सीताको माइतीलाई विकसित गर्ने सपनाहरु युगौंदेखि यहाँका जनसमुदाय र नागरिकले साँच्दै आएका छन् । ती आशायुक्त आँखाका सपनाहरुलाई आकार दिन हामीले पूरा गर्नुपर्ने दायित्वबारे यहाँको विशाल ज्ञान, दीर्घ अनुभव र सुतिष्ण बृद्धिबाट प्रेरणा प्राप्त हुने विश्वास हामीले लिएका छौं ।

विश्वमंगलका लागि यहाँको अमर, आनन्दमय र कृतिमय जीवनको याचना जगन्माता सीतासँग गर्दै सम्पूर्ण मिथिलाबासीका तर्फबाट पटक-पटक यहाँको स्नेहमय आगमनका लागि हार्दिक आमन्त्रण गर्दै गणतन्त्र भारतका महामहिम राष्ट्रपतिको यस विशिष्ट आगमनका लागि हार्दिक अभिनन्दन गर्दछौं ।

हामी हौं मिथिलाबासीहरु, जनकपुरधाम नेपाल

धन्यवाद । नमस्कार ।

भारतीय राष्ट्रपतिको नागरिक अभिनन्दन  

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा आज नागरिक अभिनन्दन गरिएको छ । राष्ट्रपति मुखर्जीलाई जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाद्वारा अभिनन्दन गरिएको हो।

राष्ट्रपति मुखर्जीले अभिनन्दन ग्रहण गर्दै प्राचीन नगरी जनकपुरमा पाएको स्वागत सत्कारले आफू अभिभूत भएको बताए।उनले देवी सीता र राजा जनकको जन्मभूमि जनकपुर भारतका लागि आदरणीय तथा संस्कृति, ज्ञान, अन्वेषणका लागि प्रोत्साहन गरिरहेको प्रशङ्ग उल्लेख गरे।

जनकपुर संसारका विद्वानको ज्ञान भूमि भएको चर्चा गर्दे राष्ट्रपति मुखर्जीले भने, ‘हिन्दू, बौद्ध, जैन र महावीर धर्मका लागि उर्वर सङ्गमस्थल जनकपुर साझा संस्कृतिको उदाहरण हो।’राष्ट्रपति मुखर्जीले ऋग्वेदको महत्वपूर्ण खोज पनि जनकपुरमा भएको छ भन्दै साझा परम्परा, समृद्धि र विरासतलाई उचाइमा पु¥याउनुपर्ने धारणा राखे।

उनले भारत सरकारद्वारा जनकपुरको परिक्रमा पथमा दुईवटा धर्मशालाको निर्माण, जनकपुरको विकास, वीरगन्ज र विराटनगर प्रवेश मार्गमा आधुनिक जाँचपोस्टको निर्माण तथा पर्यटन विकास कार्ययोजनाबारे जानकारी गराउँदै यसले नेपालको व्यापार र पर्यटन क्षेत्रको विकासमा सहायक सिद्ध हुने विश्वास व्यक्त गरे।

राष्ट्रपति मुखर्जीले पूर्वज विरासतको रक्षा, प्रेम, सद्भाव, भगिनी सम्बन्ध तथा जनता र सरकारको सम्बन्धलाई परस्पर बलियो र विस्तारको प्रतिबद्धतामा पनि जोड दिए।उनले गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिको जीवन दर्शनले आफू प्रभावित रहेको पनि बताए।

सो अवसरमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति मुखर्जीलाई स्वागत गर्दै जनकपुरको पर्यटकीय प्रवद्र्धनमा भारत सरकारको सहयोगको आग्रह गरे।उनले जनकपुरमा भारतीय सरकारद्वारा सञ्चालित योजनालगायत बहुआयामिक विकासतर्फ राष्ट्रपति मुखर्जीलाई ध्यानाकर्षण गराए।

भारत र जनकपुरवासीको हृदय र मानसपटलमा अगाध स्नेहको सम्बन्ध रहेको चर्चा गर्दे उपप्रधानमन्त्री निधिले जनकपुरलाई पर्यटकीय सूचीमा सूचीकृत गरिएमा शीध्र उपलब्धि हासिल हुनसक्ने बताए।जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइँटेलले राष्ट्रपति मुखर्जीलाई अभिनन्दन र नगरको साँचो प्रदान गर्दे विज्ञान प्रविधि, उद्योग व्यवसाय, ज्ञान विज्ञान तथा सांस्कृतिक, आध्यात्मिक र पर्यटन केन्द्रका दृष्टिले जनकपुरको विकासमा भारत सरकारको सहयोगको आशा गरे।

सो अवसरमा राष्ट्रपति मुखर्जीले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग जनकपुरबारे जिज्ञासा र जानकारी पनि लिएका थिए।समारोहमा राष्ट्रपति मुखर्जीको सम्मानमा मिथिला नाट्यकला परिषद्का कलाकारले ‘इएह छी हमर’ जनकपुर नामक गीतको स्वागत नृत्य प्रस्तुत गरेका थिए।

राष्ट्रपति मुखर्जीलाई वृहत्तर जनकपुर विकास परिषद् र जनकपुर उद्योग वाणिज्य सङघबाट जानकी मन्दिरको प्रतिमा उपहार प्रदान गरिएको थियो। यसअघि राष्ट्रपति मुखर्जी तिरहुतिया गाछी आइपुग्दा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, पर्यटनमन्त्री जीवनबहादुर शाही, सांसद , पूर्व सांसद र राजनीतिक दलका प्रतिनिधिले स्वागत गरेका थिए। रासस


तश्विर: रोशन सापकोटा (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!