स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माओवादी केन्द्रको ठहर

Posted on: 03 Dec, 2016

मङ्सिर १८, काठमाडौँ । नेकपा माओवादी केन्द्रले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास लाजिम्पाटमा आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले संविधान कार्यान्वयन गरेर जानका लागि चुनावको मिति घोषणा गरेर जानुपर्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री दाहालले सरकारले केही दिनमै चुनावको घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभएको थियो । बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि सबै दलसँग थप छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री दाहालले संशोधनमा सबै दलको सहमति जुटाउन सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सङ्घीय गठबन्धनसँग निरन्तर संवादमा रहेको बैठकमा जानकारी दिनुभएको थियो । उहाँले संशोधनमा मधेसी दल सहमतिमा आउने आफूले विश्वास लिएको बताउनुभयो । 

संशोधन प्रस्तावविरुद्ध देशका विभिन्न भागमा चलेको आन्दोलनका बारेमा समेत आजको बैठकमा समीक्षा भएको थियो । 

बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउनुभएको थियो । पार्टीको सङ्गठनात्मक संरचनाका विषय छिटो टुङ्ग्याउनुपर्नेमा बैठकमा सहभागी नेताहरुले जोड दिएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!