लगातार तेस्रो दिन पनि संसद बैठक अवरुद्ध

Posted on: 04 Dec, 2016

मङ्सिर १९, काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठक पनि संविधान संशोधनका विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । 

सरकारले संशोधनको विधेयक दर्ता गरे पनि सदन अवरुद्ध भएको यो तेस्रो दिन हो । बैठकका प्रारम्भमा विपक्षी सांसदले आफ्नो स्थानबाट उठेर अवरोध गरे । 

त्यसपछि सभामुख ओनसरी घर्तीले समय दिएपछि नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले संविधान संशोधनमा भारतको दबाब र प्रभाव रहेको बताउँदै यस्तो प्रवृत्तिले मुलुकको सार्वभौमसत्ता खतरामा पर्ने आशङ्का गरिन् । उनले विदेशी शक्तिले दलहरुको एकता गराउने र फुटाउने खेल गरिरहेको जिकिर  गरिन् । 

थापाको उक्त भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठले आफ्नो पार्टीको एकतामा कुनै बाह्य पक्षको हात नरहेको बताए । थापाले आफूले एक अनलाइनमा आएको खबरका आधारमा सो अभिव्यक्ति दिएको जनाएपछि राप्रपाका सबै सांसद् उठेर विरोध जनाए । सभामुखले थापाको उक्त भनाइ सम्पादन गर्न सचिवालयलाई निर्देशन दिए । 

थापाको मन्तव्यपछि विपक्षी दलका सांसद्ले आफ्नो स्थानबाट उठेपछि बैठक अवरुद्ध भएको हो । सभामुख घर्तीले समस्याप्रति सबै गम्भीर भएको र समाधान लागि यही सदनको प्रक्रियाबाट अघि बढ्नुपर्ने भएकाले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्दा पनि विपक्षीले नमानेपछि यही मङ्सिर २२ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन भयो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!