संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धितर्फ लाग्छः सभामुख घर्ती

Posted on: 12 Jan, 2017

पुस २८, दाङ । सभामुख ओनसरी घर्तीले अब मुलुक आर्थिक समृद्धितर्फ लाग्ने बताएकी छन् ।

दाङको विजौरी–६ स्थित असहाय बालविकास केन्द्र नेपालको कार्यालय भवन उद्घाटन गर्दै उनले अहिले राजनीतिक तहमा केही मत मतान्तर भए पनि नयाँ संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताइन् ।

सभामुख घर्तीले संविधानको कार्यान्वयनसँगै राजनीतिक अन्यौलता पनि अन्त हुने र मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै संविधानले आम नागरिकको जीवनयापनको अधिकार सुनिश्चित गरेकाले अब कोही पनि भोकभोकै मर्नु पर्ने अवस्था नआउने बताइन् ।

मानवीय सेवा सबैभन्दा उच्च कार्य भएको उल्लेख गर्दै उनले असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासका लागि स्थापना गरिएको असहाय बालविकास केन्द्र आफ्नो लक्ष्यमा पुग्न सकोस् भनी शुभकामना व्यक्त गरिन् ।

असहाय बालविकास केन्द्र नेपालका अध्यक्ष विष्णु चौधरीले आफ्ना लागि बाँच्नुभन्दा पनि अरुका लागि बाँच्दा आउने आनन्दले नै आफूले असहाय बालवालिकाको विकासका लागि जनस्तरबाट सहयोग लिई यो भवन निर्माण गरिएको बताए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!