उर्जामन्त्री सहितका माओवादी नेतामाथि अर्घाखाँचीमा ढुंगामुढा

Posted on: 12 Jan, 2017

पुस २८, अर्घाखाँची । अर्घाखाँचीमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । कार्यक्रममा माओवादी नेता डिलारामा आचार्यले “देश टुक्रिनु भएन, ५ नम्बर टुक्रेमा केही हुदैन” भनेर अभिव्यक्ति दिएपछि युवाहरुले ढुगांमुढा समेत गरेका छन् ।

ढुंगा बर्सिएपछि दुईजना सर्बसाधारण घाइते भएका छन् । डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

माओवादी नेता डिलाराम आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको र आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लाबासीहरुसँग माफी मागेपछि भीड नियन्त्रणमा आएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि उर्जामन्त्री शर्माले प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा “पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने” अभिव्यक्ति दिएपछि थप स्थानीय थप आक्रोशित भएका थिए ।

सन्धिखर्कमा आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका शिलशिलामा शर्मा अर्घाखाँची पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!