मधेस विनाको काठमाडौं कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री

Posted on: 16 Jan, 2017

माघ ३, दुवई । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् ।

दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन । हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो ।’

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको भन्दै उनले अघि भने, कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन । मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेश बिनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन ।’

सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाईहरुको पसिनाबाट आर्जेको बिप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु ।’

साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिलेको भन्दै उनले भने, ठूला र अग्ला टावरहरु हेरियो । यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर (सगरमाथा) छ । यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ ।’

प्रवासी नेपालीहरुसँग अन्तरक्रियापूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली व्यवसायीहरुसँग छलफल गरेका थिए । नेपालमा पनि लगानीको वातावरण बनाउन सरकार प्रयत्नशील रहेको भन्दै उनले भने, मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्दैछौं । तपाईहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।’

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत नेपालमै खपत गर्न सकिने र साझा संकल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताए । भेटका अवसरमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!