'आर्थिक अभावकै कारण अब कसैले ज्यान गुमाउन पर्दैन'

Posted on: 16 Jan, 2017


ताराबहादुर महत/माघ ३, दोलखा । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरीरहेको औषधि सकिएको २४ घण्टाभित्रै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काङ्गे्रस निकट नेपाल साँस्कृतिक संघ, दोलखाको दोश्रो जिल्ला अधिवेशनलाई आज चरिकोटमा सम्बोधन गर्दै मन्त्री थापाले औषधि सकिएको जानकारी पाए लगत्तै औषधि पठाउने र औषधि नभएमा खरिदका लागि पैसा उपलब्ध गराउने बताएका हुन् । 

कुनै पनि नेपालीले आर्थिक अभावकै कारण आफूलाई लागेको रोगका कारणले ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य  विमा सम्बन्धिको विधयेक माघ १५ भित्र संसदमा पेश गर्ने तयारी भईरहेको उनको भनाई थियो । 

त्यसैगरी उनले दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आफ्नै कार्यकालमा ५० शैयाको अस्पताल बनाउने प्रतिबद्धता समेत  जनाएका छन । अर्को प्रसङ्गमा मन्त्री थापाले संसदमा दर्ता भएको संविधान संशोधन र निर्वाचन सम्बन्धि विधयेक आगामी संसद बैठकबाट पारित हुने र आगामी जेठ मसान्तसम्म स्थानिय निकायको निर्वाचन भएरै छाड्ने दाबी गरेका छन । 

नेपाल साँस्कृतिक संघ, दोलखाका अध्यक्ष सुवास शिवाकोटीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा काङ्ग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!