संविधान संशोधन आवश्यक छ: भट्टराई

Posted on: 23 Jan, 2017

माघ १०, बनेपा । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन् ।

बनेपामा आज राष्ट्रिय युवा अभियान, काभ्रेपलाञ्चोकको प्रथम जिल्ला सम्मेलनमा उनले संविधान संशोधन गरेर मधेसी समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । 

संयोजक भट्टराईले भने–“मधेसी समुदायलाई अल्झाउने कामले समस्याको समाधान हुँदैन ।” उनले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्दै संविधान संशोधनका लागि योगदान गर्नसमेत आह्वान गरे । 

पूर्वप्रधानमन्त्री भट्टराईले संविधान कार्यान्वयन नहुँदा विगतमा भएका परिवर्तन र क्रान्ति गलत त थिएनन् भन्ने आशङ्का देखिएको तर्क गर्दै विकास र समृद्धिका लागि राष्ट्रिय एकता र स्वाधीनता आवश्यक भएको बताए । 

इतिहासका निर्माता र सिर्जनशील कालखण्डका युवा शक्ति भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै भट्टराईले पराधीन र परनिर्भर अर्थतन्त्रको अन्त्य जरुरी भएको बताए । 

नयाँ शक्ति नेपालका नेता गङ्गानारायण श्रेष्ठले विदेशीबाट उपलब्ध भएको रेमिट्यान्ससमेत अनुत्पादक क्षेत्रमा लगानी भएकामा चिन्ता व्यक्त गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!