चुनावको मिति घोषणासँगै डडेल्धुरावासी हर्षित

Posted on: 23 Feb, 2017

फागुन १२, डडेल्धुरा । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डडेल्धुराका स्थानीयवासी खुसी हुनाका साथै घोषणाको स्वागत गरेका छन् । 

दुई दशकपछि हुन लागेको स्थानीय निकायकोे चुनावको मिति घोषणा भएको भन्दै डडेल्धुरावासी खुसी भएका हुन् । झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयवासी खुसी भएका अजमेरका पूर्वगााविस अध्यक्ष हिक्मतबहादुर ऐरले जनाएका छन् । 

नेपालको संविधान कार्यान्वयनको पहिलो आधारका रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै चिया पसलदेखि बजारका चोकचोकमा स्थानीय छलफलमा व्यस्त रहेका छन् । तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्नसमेत डडेल्धुरावासीले माग गरेको वेलापुर गाविस–९ का समाजसेवी तथा किसान नेता धनबहादुर साउदले बताउनुभयो । 

चुनावको मिति घोषणासँगै जिल्लाको गाउँगाउँमा समेत चुनावको चहलपहल बढेको छ । उम्मेदवार चयनका लागि जिल्लास्तरका राजनीतिक दलसमेत छलफलमा व्यस्त हुन थालेका छन् । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न पाउने भन्दै डडेल्धुरावासी खुसी भएका गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष टेकराज पाण्डेयले बताउनुभयो । 

साथै, जनप्रतिनिधिमा कस्लाई र कुन पार्टीको उम्मेदवारलाई भोट दिने भन्ने बारेमा समेत छलफल गर्न थालेका छन् । साथै, आन्दोलनको घोषणा गरेका मधेसवादी दललाई समेत लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा सहभागी गराउन ठूला राजनीतिक दललाई डडेल्धुरावासीले आग्रहसमेत गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!