ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा कति मतदाता ? सम्भावना कसको ?

Posted on: 24 Feb, 2017

फागुन १३, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि भब्य तयारी हुँदै गर्दा काठमाडौँ तार्केश्वर नगरपालिकाकै ठूलो क्याम्पस ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन गरिएको छ । 

ग्रामिण क्याम्पसमा कुल १ हजार ६ सय ८७ जना मतदाताको नामावली सार्वजनिक भएको छ । जसमा स्नातकोत्तर तहबाट १ सय ८९ मतदाता छन् भने बाँकी स्नातकका बिद्यार्थी हुन् । यो क्याम्पसमा कम्तिमा एक हजार मत खस्ने अनुमान छ ।

यता काठमाडौँकै सबैभन्दा धेरै मतदाता भएको क्याम्पसमा शंकरदेव क्याम्पस रहेको छ | जहाँ कुल ८ हजार २ सय ७ जनाको अन्तिम नामावली प्रकाशित भएको छ । त्यस्तै पाटन संयुक्त क्याम्पसमा ४ हजार ७ सय ५८, नेपाल ल क्याम्पसमा ४ हजार ४ सय, पशुपति क्याम्पसमा ४ हजार १ सय ७३ मतदाता छन् भने त्रिवि केन्द्रीय क्याम्पसमा ३ हजार ६ सय ९९ जना बिद्यार्थीको नामावली सार्वजनिक गरिएको छ । 

ग्रामीणमा राजनीतिक कोटा 

मिनी निर्वाचनको संज्ञा दिईने स्ववियु निर्वाचनमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसले राजनीतिक कोटाको आधारमा हरेक बिद्यार्थी युनियनलाई १२ बिद्यार्थी भर्ना गर्न दिएको थियो । यस अघिको निर्वाचनमा जस्तो, जसले जति सक्छ त्यति बिद्यार्थी भर्ना गर्ने परिपाटीको अन्त्य भएपनि कोटामा भर्ना गर्न दिनु राम्रो अभ्यास भने हैन । कोटामा भर्ना गर्दा हरेक संगठनले आफ्नो संगठनको लागि मत दिने निश्चित व्यक्तिहरु भर्ना गर्छन । यो परिपाटीले क्याम्पसमा भर्नाको लागि पैसा जुटाउन नसक्नेलाई केहि राहत हुन्छ । तर भर्नाको नाममा पास आउट भईसकेका र मत हाल्नकै लागि मात्र भर्ना गर्नेहरुलाई यो कोटामा छिराउने गरिएको छ  । 

सम्भावना कसको ? 

यस अघिका स्वबियु निर्वाचनमा नेविसंघले जितेको यस क्याम्पसमा अनेरास्ववियुलाई सबैभन्दा कमजोर मानिदै आईएको छ । तर फुटेर टुक्रा-टुक्रामा परिणत भएको माओवादी समर्थित बिद्यार्थी संगठनहरुको स्थिति अनेरास्ववियु भन्दा अझै कमजोर देखिन्छ । क्रान्तिकारीहरु र नयाँ शक्ति समेतको तालमेल हुनसक्ने सम्भावना देखिए पनि निश्चित टुंगो नलाग्दा अहिलेसम्म कसको शक्ति कत्रो भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । क्रान्तिकारी र नयाँ शक्ति सहितको तालमेल भएमा नेविसंघलाई अफ्ट्यारो पर्ने देखिन्छ ।

अनेरास्ववियुले आफ्नो शक्ति बलियो बनाउन दैनिक प्रयास गरिरहेको भएपनि यस अघिकै स्थिति दोहोरिने बताइएको छ । तर अनेरास्ववियुले पहिलेजस्तो कमजोर स्थिति नभएको भन्दै आफुहरुले जित्ने दावी गरेको छ ।

यता नेविसंघमा को सभापति उठ्ने भन्ने बिषय अझै घतलाग्दो छ । नुवाकोटको अधिकांश बिद्यार्थीले यो क्याम्पसमा पढ्ने भएकाले नुवाकोटकै बिद्यार्थी सभापति हुनुपर्छ भन्ने भनाई समेत नेविसंघभित्र आएका छन् । पछिल्लो समय क्याम्पसमा नेविसंघ भित्र दुईधार देखिँदै आएको कारण त्यसको बिबाद मिलाउन नेविसंघलाई हम्मे-हम्मे पर्ने देखिन्छ । सभापतिमा नुवाकोटे बिद्यार्थी चयन गर्दै गर्दा उता अर्को पक्षको बरियता र राजनैतिक हैसियतनै खतरामा पर्ने बताइएको छ ।

समग्रमा भन्नुपर्दा ग्रामिणको अहिलेसम्मको स्थितिमा नेविसंघनै बलियो मानिन्छ । नेविसंघलाई हराउनको लागि रणनीतिनै मुख्य सुत्र हुनसक्छ । क्रान्तिकारीहरु र नयाँ शक्तिबीचको निर्वाचन एकतालाई रणनीति मान्ने हो भने पनि नेविसंघले पनि अर्को रणनीति अपनाउन सक्ने निश्चित छ । यता क्रान्तिकारी बिचारधाराकै व्यक्ति राप्रपा समर्थित संगठनको नेतृत्वमा गएपछि त्यो शक्ति कता ढल्कन्छ भन्नेमा अन्यौलता छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!