स्थानिय निर्वाचनको तिव्र तयारीमा निर्वाचन कार्यालय बझाङ

Posted on: 23 Mar, 2017

सम्राट सिंह/चैत १०, बझाङ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बझाङले सबै किसिमका तयारी तीव्र पारेको छ । 

निर्वाचन कार्यालय बझाङले मतदाता नामावली अद्यावधिक गर्ने, दल दर्ता तथा मतदानस्थल निर्धारण गर्ने जस्ता कार्य तीब्र रुपमा सम्पन्न गरेको हो । जिल्लास्थित मतदान केन्द्र सिफारिस समितिले १ सय २५ निर्वाचन स्थलका लागि निर्वाचन आयोगलाई सिफारिस गरिसकेको जिल्ला निर्वाचन अधिकृत धुब्र भण्डारी ले बताए । निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको विवरण समेत सङ्कलन गरिसकेको र निर्वाचन शिक्षा एवं मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने उनको भनाई छ । 

बझाङमा १२ राजनीतिक दल दर्ता भएको र झण्डै ९७ हजार मतदाता रहेको र अन्तिम मतदाता नामावली आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा दुई नगरपालिका र दश वटा गाउँपालिका रहेका छन । 

करिब दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचन पश्चात् विकासले गति लिने समेत आम बझाङ्गी जनतामा  विश्वास छाएको छ । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी केशव थापाले बताए । 

स्थानिय निर्वाचन नजिकिदै गर्दा जिल्लास्थित राजनीतिक दलसमेत आआफ्ना कार्यक्रम लिएर नगरपालिका हुँदै गाउँपालिका र वडासम्म गाउँ अभियानमा व्यस्त रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!