आरआरको स्ववियु निर्वाचन स्थगन गर्न माग

Posted on: 26 Mar, 2017

चैत १३, काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी मङ्गलबार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गर्न नौ विद्यार्थी सङ्गठनले माग गरेका छन् । 

सत्तारुढ दलका नौ विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गरी स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा भइरहेको र निर्वाचनमा सबै विद्यार्थी सङ्गठनको सहभागी हुने वातावरण नभएकाले हाल निर्वाचन स्थगन गरी नयाँ मिति तोक्न क्याम्पस प्रशासनसँग माग गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले ‘विद्यार्थी सङ्गठनहरुलाई बाहिर राखेर निर्वाचन गर्न थालिएकाले’ स्थगन गर्नुपर्ने बताउनुभयो । 

यसअघि फागुन २३ गते स्ववियु निर्वाचन स्थगन भएको थियो । सर्वोच्च अदालतले काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा निर्वाचन गर्न यही चैत २ गते अन्तरिम आदेश जारी गरेपछि क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले शनिबार सूचना प्रकाशन गरी मङ्गलबार नयाँ मिति तोक्नुभएको हो । 

अनेरास्ववियु (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले अदालतको आदेशभन्दा पनि विद्यार्थी सङ्गठनको सहमतिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । 

आरआरमा नेपाल विद्यार्थी सङ्घ, अखिल (छैटौँ) र अखिल (पाँचौँ)ले मनोनयनपत्रसमेत दर्ता गराएका छैनन् । क्याम्पस प्रमुखले आज सूचना प्रकाशन गरी स्थगित निर्वाचन आगामी मङ्गलबार हुने जानकारी गराउनुभएको छ । 

विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय प्रशासनले स्थानीय निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गराएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!