मधेसलाई संविधानले सम्बोधन गरेको छ: खनाल

Posted on: 30 Mar, 2017

चैत १७, चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताउनुभएको छ । 

पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभयो । 

अहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उहाँले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्छ भन्नुभयो । 

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम सुरु गरिसकेको छ भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तय हुने उहाँले जानकारी दिनुभयो । 

तराईमा फेरि एमालेले कार्यक्रम गर्ने भन्दै उहाँले यसअघि मधेसी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताउनुभयो । 

मधेसमा– मधेसी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै उहाँले सबैलाई थाहा हुनेगरी कोही कसैबाट मधेसी मोर्चा परिचालित भएको खनालको आरोप थियो । उहाँले भन्नुभयो “सप्तरी र महाकालीमा घटना हुँदा पनि मधेसी मोर्चा बोलेनन् ।” 

मधेसलाई संविधानले सम्बोधन गरेको भन्दै उहाँले हरेक मधेसी जनताका लागि संविधानमा अधिकारको व्यवस्था भएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!