सिन्धुपाल्चोकमा निर्वाचनको चहलपहल सुरु

Posted on: 11 Apr, 2017

राम केसी चैत २९, चौतारा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकमा चहलपहल सुरु भएको छ ।

निर्वाचनमा आ–आफ्नो पक्षमा मतदातालाई आकर्षित तुल्याउन राष्ट्रिय पार्टीका नेता तथा कार्यकर्ता गाउँ गाउँमा प्रचारप्रसार अभियानमा जुट्न थालेका छन् । गाउँपालिका र नगरपालिकाको विभिन्न पदमा चाहना राख्नेहरु प्रशस्त भए पनि दलहरुले अझै उम्मेदवार छनोटको टुङ्गो लगाइसकेका भने छैनन् ।

वडा–वडाबाट सिफारिस पठाउने काम भइरहेकाले आगामी वैशाख ४ गतेभित्र उम्मेदवारको टुङ्गो लगाइने नेपाली काँग्रेसका जिल्ला सभापति विकास लामा बताउँछन् । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल सबै उम्मेदवारको छनोटको टुङ्गो वैशाख ७ गतेदेखि १० गतेसम्म लगाइने बताउँछन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा उम्मेदवारको छनोटको टुङ्गो यही महिनाभित्र लाग्ने बताउँछन् । हालसम्म अरु पार्टीले महिला उम्मेदवारलाई वडा सदस्य र उपप्रमुख पदमा मात्र सीमित राख्ने बताइरहेका बेला माओवादी केन्द्रले भने बलेफी गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवार उठाउने प्रयास भइरहेको सापकोटाले बताए । 

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता निकै उत्साहित देखिएका छन् । जिल्लामा ९५२ जना म्यादी प्रहरी नियुक्त गरिएको र उनीहरुलाई आन्तरिक प्रशिक्षण दिन थालिएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए । 

चीनसँग सीमा जोडिएको जिल्ला भएकाले विगतको प्रचलन र केन्द्रीय नीतिअनुसार नै सुरक्षा व्यवस्था अपनाइने उनको भनाइ छ । जिल्लामा कुल ५६६ पद मध्ये महिला उम्मेदवार २०६ जनाले भाग लिन पाउने जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले जानकारी दिए । 

दुई लाख एक हजार ४१४ मतदाता छन् भने तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा १४४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा २० वटा दल दर्ता छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!