नगरपालिका प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’

Posted on: 24 Apr, 2017

बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा (एमाले)का नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र “पिआर) परित्याग गर्नुभएको छ ।” 

प्रमुखको आकाङ्क्षी रहनुभएका शेर्पाले एक महिना अघि नै पिआर त्याग्नुभएको हो । शेर्पाले भन्नुभयो “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले त्यहीँ विषयलाई विरोधको मुद्दा बनाउछन् भनेर मैले पिआर त्यागेको हुँ ।” 

छ वर्षअघि पिआर प्राप्त गर्नुभएका शेर्पा त्यसपछि अमेरिका आवातजावात गर्दै आउनुभएको छ । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्ष बनेका शेर्पाको सोलु दूधकुन्ड नगरपालिकाको उम्मेदवारी भने सर्वसम्मत हुनसकेन । 

आकाङ्क्षी बढी भएका कारण एमाले सोलुखुम्बुले मेयर पदका लागि शेर्पासहित सात जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । उम्मेदवारका लागि जिल्लाका थुप्रै शिक्षकले पनि राजिनामा दिन थालेका छन् । 

यस्तै नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य समेत रहनुभएका शिक्षक तारामान राई पनि जागिर छाड्नुको साथै पार्टी फेरेर सोताङ गाउँपालिका – २ को वडाध्यक्षमा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको छ । 

यस्तै लिखुपिके गाउँपालिका– ४ का हिक्मत बस्नेत पनि शिक्षक जागिर छाडेर नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सोलु दूधकुन्ड नगरपालिका–७ बाट अध्यक्ष पदको उम्मेदवार बन्न शिक्षक लालमान श्रेष्ठले पनि शिक्षकबाट राजिनामा दिनुभएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!