१८ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्नुको विकल्प छैन: यादव

Posted on: 27 Apr, 2017


बैशाख १४, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताएका छन् ।

उनले भने,‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाईएको हो, यसलाई पारित गर्नुपर्छ, यही बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले सत्तारुढ र आफूहरुवीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने बताए । उनले भने,‘सहमतिको अक्षरंस अनुसार नै जानुपर्छ, संशोधन प्रस्ताव प्रक्रियामा गैसकेको छ, यसको सैद्धान्द्धिक छलफल सुरु भैसकेको छ, ७२ घण्टासम्म संशोधनको लागि समय छुट्टयाईएको छ, यही बीचमा यसलाई अनुमोदन गर्नुपर्छ, अब ढिलो गर्नुहुँदैन, समय अत्यन्तै कम छ ।’

संघीय गठबन्धनका संयोजक समेत रहेका नेता यादवले उक्त प्रस्ताव पारित नभए आफूहरुले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने,‘प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं, प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन् गरेका छौं, यदि प्रस्तवा पारित हुँदैन, फेरि पनि हामीमाथि धोका हुन्छ भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं, त्यतिवेला निर्वाचन नहुन सक्छ।’ यादवले संविधान संशोधन नभए निर्वाचनलाई सोझै प्रभाव पर्ने समेत स्पष्ट पारे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!