काँग्रेस र माओवादीबीच झडप हुँदा १४ जना घाइते

Posted on: 06 May, 2017

बैशाख २३, रुकुम | शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । 

चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । 

मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्थानमा भएको झडपमा परी माओवादी केन्द्रका नौजना र नेपाली काँग्रेसका तीनजना कार्यकर्ताका साथै दुईजना सरकारी कर्मचारी घाइते भएको जिप्रका, रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिकाको झडपमा परी माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार रमेश खड्कासहित जीवन खड्का, डम्बर विक, अनिल पुन मगर, दलबहादुर खड्का र सुभास खड्का घाइते भएका छन् । 

चौरजहारीमा भएको झडपमा माओवादीका लीलाधर ओली, मोहन कँुवर र वीरेन्द्र राणा घाइते भएको प्रहरीले बताएको छ । 

घाइतेहरुको टाउको, खुट्टालगायतका ठाउँमा चोट लागेको छ । घाइतेको उपचार जिल्ला अस्पताल, सल्लेमा भइरहेको छ । यस्तै, दुई पार्टीको झडपमा आफ्नो कामको सिलसिलामा हिँड्दै गर्दा चौरजहारी नगरपालिका–१२ का भीमबहादुर ओली र मुसिकोट नगरपालिकामा भएको झडपमा भोगबहादुर खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । 

उनीहरु दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीको भनाइ छ । ओलीलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

ओली आधारभूत विद्यालय, जुम्लिपोखरीका प्रधानाध्यापक हुनुहुन्छ भने खड्का जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हुनुहुन्छ । 

घटनाका बारेमा थप अनुसन्धान गर्ने भन्दै प्रहरीले मुसिकोट नगरपालिकाबाट चार र चौरजहारीबाट चार गरी आठजनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरिएको छैन । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!