यस्तो छ सिन्धुपाल्चोकमा चुनावी माहोल

Posted on: 07 May, 2017

बैशाख २४, सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचन आउन सात दिन बाँकी रहँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा चुनावी माहोल बढेसँगै नेपाली काँग्रेस र नेकपा (एमाले)को ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । 

पार्टीहरुले आ–आफ्ना विभिन्न पदको उम्मेदवारको निर्णय गरेसँगै चुनाव आफ्नो पक्षमा बनाउनका लागि पार्टीका नेतादेखि कार्यकर्तासम्म अहोरात्र लागिपरेका छन् । 

मेलम्ची नगरपालिकामा मुख्य दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले)को नगर प्रमुखका लागि निकै प्रतिस्पर्धा हुने देखिएको छ भने राप्रपा र माओवादी केन्द्रले पनि माहोल आफ्नो पक्षमा पार्न पछ्याइरहेका छन् । 

जिल्लाको पश्चिम मुख्य नगरपालिका रहेकाले यसलाई विभिन्न दलले आफ्नो पक्षमा पार्न लागिपरेका छन् । एघार गाविस मिलेर बनेको मेलम्ची नगरपालिकामा जिल्लाभरका नौ गाउँपालिका र तीन नगरपालिकाको तुलनामा मेलम्चीमा चुनावी चहलपहल निकै बढेको छ । 

मेलम्ची नगरपालिकामा मुख्य चार दलबाट क्रमशः प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका तर्फबाट आइतमान तामाङ र सविता गुरुङ, नेकपा (एमाले)का तर्फबाट डम्बर अर्याल र भगवती नेपाल, राप्रपाका तर्फबाट फणीन्द्र दाहाल र कुमारी तामाङ, माओवादी केन्द्रबाट श्याम खड्का र मुनादेवी ढकाल उम्मेदवार रहेका छन् । 

आफ्नो दललाई बलियोे बनाउनका लागि भेला, घरदैलो अभियान, ¥याली तथा कार्यकर्ता भेटघाटलाई सबैले बाक्लो बनाउन थालेका छन् । 

अहिले जिल्लाभरि नै विभिन्न पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने होड नै चलेको छ भने पार्टी प्रवेश कार्यलाई नै जोड दिइएको पाइन्छ । 

विशेष गरेर ठूला दलहरु काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र राप्रपाका नेतालाई चुनावी चटारोले छोपेको छ । मतदाता सङ्ख्या हेरेर दलहरुले मतदाता नामावलीमा नाम भएकाहरुको हिसाब गरी समीकरण बनाउनसमेत सुरु गरिसकेका छन् । 

पहिलाको स्थानीय निकायको निर्वाचनको तुलनामा यसपटकको स्थानीय तहको निर्वाचनमा निकै राम्रो नतिजा आउनेमा मुख्य सबै दलले आशा राखेका छन् । 

नगरपालिकाभित्र नेपाली काँग्रेस र नेकपा (एमाले)को प्रतिस्पर्धा हुने देखिए पनि केही समयअघि शक्तिशाली पार्टीका रुपमा उदाएको नेकपा (माओवादी केन्द्र)ले माहोल बढाएको छ । मेलम्ची नगरपालिकाभित्र १३ वडाको १४ स्थानमा मतदान केन्द्र तोकिएको छ । नगरपालिकाभित्र जम्मा ३१ हजार ९८७ मतदाता रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!