दैलेखमा एमाले कार्यकर्तालाई खुकुरी प्रहार, सैनिक जवान पक्राउ परे

Posted on: 19 May, 2017

जेठ ५, काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बनाएको अभियोगमा नेपाली सेनाका जवान सहित ४ जनालाई पक्राउ गरिएको छ ।

नगरपालिकाको ७ नम्बर वडामा एमाले जितेपछि विजय जुलुस निकाल्ने क्रममा विवाद भएको थियो । जुलुस सकेर घरमा बसेका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार हुँदा ७ जना घाइते भएका थिए । खुकुरी प्रहारको नेतृत्व गर्ने प्रेमबहादुर भण्डारी सहित नगेन्द्र भण्डारी, शक्ति सुनार र प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये प्रेमबहादुर भण्डारी नेपाली सेनाको रणभैरव गणमा कार्यरत सैनिक रहेको इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर धु्रवकुमार श्रेष्ठले बताए । खुकुरी प्रहारबाट घाइते हुने एमाले कार्यकर्ताहरु तिलक उपाध्याय, भगतलाल बानिया, बालकुमारी योगी, सुर्जा पाण्डे, सतानन्द पाण्डे, फुर्ति पाण्डे, पूर्ण पाण्डेको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!