भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

Posted on: 19 May, 2017

जेठ ५, भक्तपुर | भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ । 

भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली काँग्रेसका रामप्रसाद कासुलाभन्दा झन्डै चौब्बर मत अन्तरले अग्रता लिनुभएको हो । पछिल्लो मतगणनामा प्रजापतिले २० हजार एक सय ९४ र कासुलाले पाँच हजार छ सय १७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशीको जित पक्का भएको छ । जोशीले २० हजार तीन सय ३३ र काँग्रेसकी गङ्गालक्ष्मी अवालले पाँच हजार दुई सय ९४ मत प्राप्त गर्नुभएको छ । 

मतगणना सम्पन्न भएका आठ वटै वडामा नेमकिपाको समूह नै विजयी भएको छ । विजयी हुने वडाध्यक्षमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद वासुकला, राजकृष्ण गोरा, कुमार चवाल, प्रेमगोपाल कर्माचार्य, हरिराम सुवाल, उकेश कवां र महेन्द्र खायमली हुनुहुन्छ । 

त्यसैगरी मध्यपुर थिमी नगरपालिकाको मतगणना सम्पन्न भएका चार वटा वडामध्ये सबै वडाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त परिणामानुसार मध्यपुर–१ मा सुरज खड्का, २ मा राम थापा मगर, ३ मा प्रेमबहादुर कुटु र ४ मा कुमार श्रेष्ठ विजयी हुनुभएको हो । मध्यपुर वडा नं १ र ३ मा काँग्रेसको समूह तथा वडा नं २ मा नेकपा (एमाले)ले महिला सदस्य एक र वडा नं ४ मा खुला सदस्यमा जित हासिल गरेको छ । 

सूर्यविनायक नगरपालिकामा पनि मिश्रित परिणाम आएको छ । सूर्यविनायकका पाँच वटा वडाको नतिजा सार्वजनिक हुँदा काँग्रेसले दुई र एमालेले तीन वटा वडामा अध्यक्ष जितेको छ । 

सूर्यविनायक–१ मा एमालेका सानुकाजी कायस्थको समूहले जित हासिल गरेको छ भने वडा नं २ मा काँग्रेसले खुला एक सदस्यबाहेकमा कमलनाथ आचार्यको नेतृत्वमा जित हासिल गरेको छ । वडा नं ३ मा काँग्रेसका शिवशरण खत्रीको समूह तथा वडा नं ४ मा एमालेका उत्तम थापा र ५ मा राजकुमार जोशीको समूह विजयी भएको छ । चाँगुनारायणमा भने अहिलेसम्म वडाध्यक्षमा काँग्रेसका क्रमशः राजेश खड्का र शिवहरि केसीका समूह विजयी भएका छन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!