चुनावअघि नै एक वडाध्यक्षसहित ३८ निर्विरोध

Posted on: 22 Jun, 2017

असार ८, काठमाडौं ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो । निर्वाचित हुनेहरु १५ जिल्लाका जनप्रतिनिधि भएको आयोगले जनाएको छ । निर्विरोध हुनेमा नेपाली काँग्रेस र नेकपा (एमाले)का १४–१४ तथा नेकपा (माओवादी केन्द्र) का १० जना छन् ।

निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका वडा नं ५ का धनञ्जय बोहोरा हुनुहुन्छ । निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको विवरण प्राप्त भएको छ ।

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा भई १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ ।

दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् । आयोगले छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!