नवलपरासीमा बम विष्फोट गराउने चारजना पक्राउ (नामावलीसहित)

Posted on: 27 Jun, 2017

असार १३, नवलपरासी । नवलपरासीको सुनवलमा मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

विष्फोट विप्लव नेतृत्वको नेकपाले गराएको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका १ का कान्तिशङ्कर पराजुली, सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यबिन्दु नगरपालिका–९ का धनबहादुर कुमाल छन् । उनीहरुले निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । 

बम बिष्पोटबाट घाइते भएका माओबादी कार्यकर्ता 

पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक चौधरीले जानकारी दिनुभयो । सुनवल नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले निकालेको चुनावी प्रचारप्रसार अभियान लक्षित गरी आइतबार सोमनाथ पुलमा बम नजिक विष्फोट गराइएको थियो । 

प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ । विष्फोटमा छ जना घाइते भएका थिए । घाइतेमध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । अर्की गम्भीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

मनोनयन दर्तापछिको एक हप्ताको अवधिमा बर्दघाट र सुनवल नगरपालिकामा पाँचवटा विष्फोट र आगजनीका घटना भएका छन् जसमा तीनवटा विष्फोट र दुईवटा सवारीसाधन माथि आगजनी भएका छन् । 

घटनामध्ये चारवटा माओवादी केन्द्र माथि भएका छन् । एउटा विष्फोटको घटना नेकपा (एमाले)का उम्मेदवारको घरमा गराइएको छ । सबै घटना विप्लव समूहले गराएको आशङ्कामा जिल्ला सुरक्षा समितिले उनीहरुमाथि निगरानी बढाउँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!