बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमाले विजयी

Posted on: 30 Jun, 2017

असार १६, बाजुरा । स्थानीय तहको दोस्रो चरणको मत आउन थालेको छ । उत्तरी भेगको पाण्डवगुफा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । 

गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एमालेका जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही विजयी भएको निर्वाचन अधिकृत प्रकाशराज पौडेलले बताउनुभएको छ । उहाँका अनुसार शाहीले एक हजार ४५१ मत ल्याएर विजयी हुनुभएको हो । 

यसैगरी, उहाँका प्रतिद्वन्द्वी नेकाका अध्यक्ष पदका उम्मेदवार सुन्दर विष्टले ९८९ मत ल्याउनुभएको हो । गाउँपालिका उपाध्यक्षका एमालेकै ऐना गिरी विजयी भएकी छन् । गिरीले एक हजार ४९० मत ल्याएर विजयी हुनुभएको छ । 

नेकाकी उपाध्यक्ष उम्मेदवार तारा रोकाया (डडाल)ले ९८७ मत पाउनुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभएको छ । पौडेलले दिएको जानकारीअनुसार नेकपा (एमाले)ले चार वडा जितेको छ भने नेकाले एक र माओवादी केन्द्रले एक वडा जितेको बताइएको छ । 

काँग्रेस नौ, एमाले नौ वडामा विजयी 

यसैगरी, स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रममा जिल्लाका नौ स्थानीय तहमध्ये सात तहको मतपरिणाम मात्र सार्वजनिक भएको छ । 

सञ्चारको पहुँच नभएका कारण स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकाको मतपरिणाम थाहा हुन सकेको छैन । १८ मतदान केन्द्रको मतपरिणामअनुसार नौमा नेपाली काँग्रेस, नौमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेका छन् । 

मतपरिणाम आएअनुसार त्रिवेणी नगरपालिका–१ मा नेकाको सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षमा नेकाका खम्म दमाईंले २८७ मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मनराजे बुढाले २१९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत सुरेशराज पन्थीले बताउनुभएको छ । 

यसैगरी, वडा नं ९ मा नेकाको प्यानल विजयी भएको छ । नेकाको वडाध्यक्षमा वीरबहादुर विष्टले ५२८ मतले विजयी भएका छन् । नेकपा एमालेका प्रतिद्वन्द्वी कर्णबहादुर साउदले ४०५ मत प्राप्त गरेका छन् । 

बूढीनन्दा नगरपालिका–१ मा नेकाका नृप खत्रीले ४०५ मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मानबहादुर कार्कीले ३५२ मत ल्याएका छन् । 

त्यस्तै, पाण्डवगुफा गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष प्रकाश शाही विजयी भएका छन् भने वडा नं ६ मा नेकपा (एमाले)का वडाध्यक्षमा कलकबहादुर विष्ट विजयी भएका छन् । 

दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउन थालेपछि नेकाले छेडेदह गाउँपालिकाका दुई र नेकपा (एमाले)ले दुई वडा जित्न सफल भएको छ । छेडेदह गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का वडाध्यक्ष वीरबहादुर रावलले ६६१ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम नेकाका टेकबहादुर रोकायाले ३९० मत ल्याउनुभएको छ । 

यसैगरी, वडा नं २ मा नेकाका वडाध्यक्ष मीनबहादुर शाहीले ५७९ मत ल्याएर विजयी भएका छन् भने नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार मानबहादुर बुढाले ३३० मत प्राप्त गर्नुभएको छ । वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष दीपकबहादुर रावतले ३९० मत प्राप्त गरेर विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष दिलबहादुर रावतले २८४ मत ल्याउनुभएको छ । 

वडा नं ४ मा नेकाको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकाका हर्कबहादुर रावतले ६०३ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल्ली सुनारले २९५ मत ल्याउनुभएको छ । 

बडिमालिका नगरपालिका–१ मा नेकाको प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्कीले ५०४ मत पाएर विजयी हुनुभएको हो । उहाँका निकटतम नेकपा एमालेका दिलबहादुर विकले २८३ मत ल्याउनुभएको हो । 

यसैगरी, वडा नं २ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार डम्वर महतले २४२ मत ल्याएर विजयी हुनुभएको छ भने नेकाका गोपाल कार्कीले २३६ मत पाउनुभएको छ । 

वडा नं ३ मा नेकपा (एमाले)को सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार वीरबहादुर रावलले ३४८ मत ल्याएर विजयी हुनुभएको छ भने नेकाका नन्दलाल खड्काले १४४ मत ल्याउनुभएको हो । 

वडा नं ४ मा पनि नेकपा एमालेको सिङ्गो प्यानल विजयी भएको हो । एमालेका वडाध्यक्ष सुरेन्द्र नाथले १४९ मत पाएर विजयी भएका हुन् । नाथका प्रतिद्वन्द्वी नेकाका सुरेन्द्रबहादुर सिंहले १२० मत ल्याउनुभएको हो । 

वडा नं ५ मा नेकाका सिङ्गो टोली विजयी भएको छ । नेकाका बलबहादुर थापाले २३३ मत ल्याएर विजयी भएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवु साउदले १३२ मत पाएका छन् । 

वडा नं ६ मा नेपाली काँग्रेस विजयी भएको छ । नेकाका वडाध्यक्षका उम्मेदवार कलादेवी बडुवालले ५५४ मत ल्याएर विजयी भएकी छन् भने नेकपा (एमाले)का करे बडुवालले ३७३ मत ल्याउनुभएको हो । 

गौमुल गाउँपालिकामा नेकपा (एमाले)ले नं १, ५ र ६ मा विजयी भएको बताइएको छ । विजयी हुनेको नाम भने खुल्न आएको छैन । 

बडिमालिका–७ मा एमाले र ८ मा नेकाँ 

यस्तै, बडिमालिका नगरपालिका–७ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार धर्मराज पाध्यायले ४३३ मत ल्याएर विजयी भएका हुन् भने नेकाका वडाध्यक्षका उम्मेदवार विजयराज पण्डितले ४२९ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, वडा नं ८ मा नेकाको सिङ्गो प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार प्रकाश रावलले ४८० मत ल्याएर विजयी हुनुभएको हो । रावलका निकटतम नेकपा (एमाले)का दलबहादुर थापाले ४०३ मत ल्याउनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!