निर्वाचनको असर अदालतसम्म

Posted on: 30 Jun, 2017

ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ ।

चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार कुलप्रसाद दाहालले जानकारी दिनुभयो । यो अवधिमा कुल लगत ४ सय ७३ रहेकोमा २ सय ७ वटा मुद्धा मात्र फछ्र्यौट भएका छन । अघिल्लो बर्षका बाँकी १ सय ९६ मध्ये १ सय २९ र यसबर्ष दर्ता भएका २ सय ७७ मध्ये ७८ वटा मुद्धा मात्र फछ्र्यौट भएका हुन । जसमध्ये १६ वटा मुद्धामा मेलमिलाप र बाँकीमा फैसला भएको हो ।

स्थानिय तह निर्वाचनका कारण करिब २ महिना इजलाश नै संचालन हुन नसकेको श्रेस्तेदार दाहालको भनाई छ । निर्वाचनको समयमा मुख्य निर्वाचन अधिकृतको रुपमा प्रमुख न्यायाधिशले भुमिका निर्वाह गर्नु परेकोले इजलाश संचालन हुन नसकेको बताईएको छ । त्यसै गरी मुद्धाको बहसका क्रममा प्रमाण स्वरुप आवश्यक पर्ने कागजात समयमै आउन नसक्दा पनि मुद्धा फैसलाको संख्या बढ्न नसकेको हो । चालु बर्षको ११ महनिा वितिसक्दा पनि २ सय ६६ वटा मुद्धा फछ्र्यौट गर्न बाँकी रहेको र असार महिनामा केहि मात्रामा फछ्र्यौट भएपनि अर्को बर्षलाई धेरै भार थपिने अवस्था देखिएको छ ।

गतबर्ष यहि अवधिमा ४ सय ९८ लगत रहेकोमा २ सय ८० वटा मुद्धा फछ्र्यौट भएका थिए । यो संख्या कुल मुद्धाको ५६ प्रतिशत हो । गतबर्ष भन्दा यसबर्ष १२ प्रतिशत कम मुद्धा फछ्र्यौट भएको तथ्याङ्कले देखाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!