तेह्रथुममा नामावली छुटेका मतदाताले धमाधम नाम दर्ता गराउँदै

Posted on: 20 Jul, 2017

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम । मतदाताको सूचीमा आफ्नो नामावली नहुँदा स्थानीय चुनावमा मतदान गर्न बन्चित भएका नागरिकहरुले धमाधम मतदाता नामावली दर्ता गर्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको नाम दर्ता गर्न थालेपछि छुटेकाहरुले धमाधम नाम दर्ता गराइरहेका छन् । 

साउन १ गतेदेखि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न निर्देशन गरेको थियो । सो बमोजिम साउन १ देखि ४ गतेसम्मको चार दिनको अवधिमा पाँच सय जनाले नाम दर्ता गराएका छन् । जसमा २ सय १५ जना महिला र २ सय ८५ जना पुरुष छन्् । 

जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार पहिलो दिन १९ महिलासहित ५८ जना, दोश्रो दिन ६२ महिलासहित १ सय ३५ जना, तेस्रो दिन ६९ महिलासहित १ सय ५२ जना र चौथो दिन ६५ महिलासहित १ सय ५६ जनाले नाम दर्ता गराएका छन् । नाम छुटेकाहरुले चुनावमा मतदान गर्न नपाएकाले पनि निकै उत्साहका साथ नामावली दर्ता गराइरहेका उनले बताए । 

छुटेका व्यक्तिहरुले अब सम्बन्धित गाउँपालिका वा नगरपालिकाको केन्द्रहरुबाटै पनि नामावली दर्ता गराउन पाउने भएका छन् । नवगठित स्थानीय तहबाटै मतदाता नामावली दर्ता गराउन चौतर्फी माग आएपछि निर्वाचन आयोगले स्थानीय तहबाटै पनि नामावली दर्ता गराउन पाउने निर्णय गरेको हो । आयोगका अनुसार अब साउन १६ देखि ३१ गतेसम्म सम्बन्धित गाउँपालिका र नगरपालिकाको केन्द्रबाटै नामावली दर्ता हुनेछ । 

छुटेका व्यक्तिहरुले आफ्नो नागरिकताको प्रमाण पत्र लिई स्थायी बसोबास भएको गाउँपालिका वा नगरपालिकामा आफु स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने निर्वाचन अधिकारी राईले बताए ।

यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको त्रुटी सच्याउन, नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन समेत यही समयमा निवेदन गर्न सकिने उहाँले जानकारी दिनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा स्थानीय चुनावमा ६० हजार ७ सय २१ जना मतदाताको नामावली समावेश भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!