अनुशासन उल्लंघन गर्ने एमाले नेता उपर उजुरी दिन आव्हान

Posted on: 22 Jul, 2017

ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ ।

एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो बैठकले यहि श्रावण २० गतेसम्म अनुशासन उल्लंघन गर्ने आफ्नो पार्टीका नेता कार्यकर्ता विरुद्ध उजुरी दिन सकिने व्यवस्था गरेको हो ।

उजुरीकर्ताहरुको उजुरीको आधारमा कार्यदलले निष्पक्ष छानविन गर्ने कार्यदलका सदस्य शान्त के.सीले जानकारी दिनुभयो । उजुरीकर्ताले कार्यदलका सदस्यहरु प्रोणप्रताप केसी, बाबुकाजी कार्की, शान्ति पाख्रिन, हरिवंश चौँलागाँई र शान्त केसीलाई लिखित र मौखिक रुपमा उजुरी दर्ता गराउन सकिने छ । उजुरीकर्ताको परिचय गोप्य राखिने सदस्य केसीको भनाई छ ।

केहि दिनअघि १२ जना नेतालाई निष्काशन गरी कारबाही गरिएको भएपनि कार्यदलले पार्टीभित्र रहेर पनि निर्वाचनमा अन्र्तघात गर्ने, मतदान नगर्ने नेता कार्यकर्ता उपर उजुरी हाल्न अनुरोध गरेको जनाईएको छ । कार्यदलमा आएका उजुरीको प्रतिवेदन कार्यदलले जिल्ला कमिटीमा बुझाएपछि कारबाही गर्ने जिम्मेवारी जिल्ला कमिटीको हुने कार्यदल सदस्य शान्त केसीले बताउनुभयो ।

यसअघि यहि श्रावण ४ गते सम्पन्न एमाले दोलखाको २१ पुर्ण बैठकले गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न तहका १२ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेको थियो । साथै बैठकले प्रोणप्रताप केसीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदल गठन गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!